कान्तिपुरकर्मी मातृका दाहाललाई एक लाख राशिको सुशासन पुरस्कार

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Good governance award of one lakh to Kantipur worker Matrika Dahal

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार मातृका दाहालले एक लाख रुपैयाँ राशिको सुशासन पुरस्कार प्राप्त गरेका छन् ।अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी दाहाललाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

नगद एक लाख राशिकै सुशासन पुरस्कारबाट उकालो अनलाइनकी पत्रकार दीपा दाहाल पनि सम्मानित भएकी छन् ।

खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानस्वरुप कान्तिपुर र उकालोका पत्रकारद्वयलाई पुरस्कृत गरिएको फाउण्डेसनले जनाएको हो । प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउण्डेसनका प्रमुख संरक्षक हेम पाठक र फाउण्डेसनका अध्यक्ष जेनी पाठकले पत्रकारद्वय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

फाउण्डेसनका प्रमुख संरक्षक पाठकले पत्रकारिताका माध्यमबाट देश र जनताको हितमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने गरी आफ्ना दिवंगत बा–आमा टंकप्रसाद पाठक र रमादेवी पाठकका नाममा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । सोही पुरस्कार यो वर्षका लागि कान्तिपुर र उकालोका पत्रकार दाहालद्धयलाई प्रदान गरिएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय कान्तिपुरकर्मी दाहालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको शरणार्थी काण्ड, बालुवाटारस्थित ललिता निवास जग्गा काण्ड, पतञ्जली जग्गा प्रकरण, सुन तस्करी, प्रहरीका हतियार खरिदमा भएको अनियमितता, सहकारी ठगी प्रकरण, नवलपरासीस्थित वुद्धको अस्थिधातु समाधिस्थलको जग्गा हिनामिना, टेरामक्स प्रकरणलगायत उच्च पदस्थ राजनीतिक, प्रशासनिक, व्यापारी/विचौलिया जोडिएका ठूला भ्रष्टाचार र घोटाला बाहिर ल्याएका थिए ।

खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानस्वरुप कान्तिपुरका पत्रकार दाहालले अमेरिकी सरकारद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘एन्टी करप्सन च्याम्पियन अवार्ड–२०२४’ सहित बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कार (२०८१), अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुशासन अवार्ड–२०७९ र २०८०, नेपाल आर्थिक पत्रकार समाजद्वारा स्थापित सेजन अवार्ड–२०७६ र २०८०, इञ्जा खोज पत्रकारिता पुरस्कार–२०७९, रिलायन्स कलेज सुशासन पुरस्कार २०८१, लगायत विभिन्न अवार्ड/पुरस्कार र सम्मान पाइसकेका छन् ।

उकालोकी दीपा दाहालले बाँसबारी जग्गा घोटाला, जुद्दोदय विद्यालयको जग्गा अनियमिततालगायत विभिन्न अनियमितता प्रकरण बाहिर ल्याएकी छिन् ।

Good governance award of one lakh to Kantipur worker Matrika Dahal

यसैगरी प्रतिष्ठानले भ्रष्टाचारविरुद्ध रचिएका गीत, कविता गायनमा संलग्न तीन स्रष्टालाई पनि नगदसहित पुरस्कार प्रदान गरेको छ । हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार गीतकार गोपालप्रसाद थपलिया र गायक तथा संगीतकार शिशिर योगी  जनही ५० हजार राशिसहित र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार नगद एक लाखसहित कवि तोया भट्टलाई प्रदान गरिएको छ ।

कविताका माध्यमबाट बेथितिविरुद्ध सक्रिय रहेको भन्दै २५ जना कविलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ । पुरस्कार तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि सांसद सिंहले केही नेता र विचौलियाका कारण मुलुक भ्रष्टाचारबाट ग्रस्त बनेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए । भ्रष्टाचार र अनियमिततामा संलग्न नेताहरुले उन्मुक्ति पाउने र कर्मचारी मात्रै कारबाहीमा पर्ने प्रवृत्तिले ‘मूल भ्रष्टाचारी’ले सधै उन्मुक्ति पाउने गरेको सिंहको टिप्पणी छ । प्रतिष्ठानका संरक्षक पाठकले आफू र सिंगो परिवार भ्रष्टाचारबिरुद्ध अभियान चलाउनकै लागि अमेरिकाको बसाई छाडेर नेपाल फिर्ता भएको र अब भ्रष्टाचारबिरुद्ध ७७ वटै जिल्लामा अभियान चलाउने बताए ।

प्रतिष्ठानकी अध्यक्ष जेनी पाठकले  भ्रष्टाचारीलाई बहिस्कार गर्नुपर्ने र आफू पनि भ्रष्टाचार गर्दिनँ भनेर सबैले प्रण गर्नुपर्ने बताइन् । ‘आफू भ्रष्टाचारमा संलग्न नरहे अरुले गरेका भ्रष्टाचारबिरुद्ध बोल्न सकिने भन्दै सुरुवात आफैंबाट गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा विभिन्न्न क्षेत्रका व्यक्तिहरुले भ्रष्टाचारबिरुद्ध सबै एक जुट भएमात्रै देशबाट कुशासन अन्त्य हुने बताएका थिए ।

कान्तिपुर

Link copied successfully