कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Congress Parliamentary Party Meeting: Decision to support the government's policies and programs

काठमाडौँ — कांग्रेसले सरकारले ल्याएको बजेटको नीति तथा कार्यक्रमलाई सकारात्मक धारणा र रचननात्मक सुझावसहित समर्थन गर्ने निर्णय लिएको छ ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम देशका प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको जनाएको छ ।

तर संसदीय दलको बैठकमा कतिपय सांसदहरुले भने संयुक्त सरकारको भावनाविपरीत नीति तथा कार्यक्रम नआएको भन्दै आलोचना गरेका थिए । ‘सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा प्रस्तुत भएका कार्यक्रम सम्पन्न हुने गरी आगामी आव २०८२/८३ को बार्षिक विकास कार्यक्रम (बजेट) तयार गर्न नेपाल सकारसँग यो बैठक अनुरोध गर्दछ,’ दलको बैठकपछि जारी निर्णयमा भनिएको छ ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्ने दिशामा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै बैठकले संसद् र यसका विषयगत समितिहरुमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प गरेको छ । संसद् र विषयगत समितिमा रहेका सांसदहरुले बैठकमा उपस्थित नभएर गैरजिम्मेवार बनिरहेको आलोचना भइरहेका बेला कांग्रेस बैठकले सबै सांसदहरुलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिमा जिम्मेवारीपूर्वक क्रियाशील रहने निर्देशन दिएको छ ।

भारतको कश्मिर पहलगाममा भएको आतंकवादी घटनामा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको हत्या भएको घटनाको कांग्रेसले भर्त्सना गरेको छ । 

त्यस्तै यही वैशाख १८ गते भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्युको स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि कूटनीतिक पहल गर्न तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग गरेको छ ।

कान्तिपुर

Link copied successfully