जागिर चाहियो कि कर्मचारी ?

रोजगारदाता र काम खोज्ने श्रमिकलाई एकै ठाउँमा भेट गराउन ‘श्रम संसार पोर्टल’ सुरु 

वैशाख १९, २०८२

होम कार्की

Want a job or an employee?

काठमाडौँ — श्रम बजारमा रोजगारदाताले चाहेको श्रमिक भेट्दैन । बेरोजगार युवाले पनि रोजगारदाता भेट्न मुस्किल पर्छ । यही समस्या हटाउन सरकारले बिहीबारदेखि ‘श्रम संसार पोर्टल’ सुरु गरेको छ, जसले रोजगारदाता र काम खोज्ने श्रमिकलाई एकै ठाउँमा भेट गराउँछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम बजारमा प्राप्त हुने रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउन यो पोर्टल सुरु गरेको हो । यो सूचना प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगारी खोजी गर्ने श्रमिक, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार र श्रम बजारका अन्य सरोकारवाला निकायलाई आबद्ध गरिनेछ । 

‘श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो,’ पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘जसबाट श्रम तथा रोजगारसम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँच योग्यता विस्तारमार्फत संघीयताको लाभ जनस्तरसम्म पुर्‍याउन सहयोगी हुनेछ ।’ 

प्रधानमन्त्री ओलीले श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाई ‘फेसलेस, प्रोसेसलेस र म्यानिप्युलेसनलेस’ बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत यसले राष्ट्रलाई समृद्धितर्फ लैजाने दाबी गरे । 

श्रम मन्त्रालयका अनुसार स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवाको संख्या ७ लाख ५७ हजार ७ सय २५ छ । जसमध्ये महिला ४ लाख ४९ हजार ३ सय ८७ छन् । उनीहरू प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सूचीकृत भएका हुन् । ती सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार दिन सक्ने अवस्था छैन । उनीहरू रोजगारदाताको खोजीमा छन् । 

श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सेवा सबै नेपालीको पहुँचमा पुर्‍याउन ×श्रम संसार पोर्टल सबै पालिकाबाट पनि सञ्चालन हुनेछ । ‘जसलाई श्रमिक चाहिएको छ, त्यो रोजगारदाताले अनिवार्य रूपमा पोर्टलमा विज्ञापन राख्नुपर्छ । श्रमिकले पनि सिधै आफ्नो विवरण अपडेट गर्न सक्नेछ । आफैंले पोर्टल प्रयोग गर्न नसके स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिनेछ,’ उनले भने, ‘यो निःशुल्क हुन्छ । स्वरोजगारले समेत आफ्नो सीपको विज्ञापन गर्न सक्नेछ ।’

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ अनुसार रोजगारदाताले आफूलाई चाहिने श्रमिकको संख्या, योग्यता, सीप, कामको प्रकृति खुलाई रोजगार सेवा केन्द्रमा अनिवार्य रूपमा लेखी पठाउनुपर्ने व्यवस्था छ । तर, यसको प्रभावकारी कार्यान्वयन भएको छैन । श्रम मन्त्रालयले श्रम संसार पोर्टलमार्फत उक्त ऐनको प्रभावकारी कार्यान्वयन हुने दाबी गरेको छ । 

श्रममन्त्री भण्डारीले आन्तरिक श्रम बजारमा अवसर भए पनि रोजगार पाउने ठाउँ नहुँदा युवा सिधै वैदेशिक रोजगारीमा जाने अवस्था बनिरहेको बताए । नेपालमा रोजगारको अवसर नभेट्दा वार्षिक ७ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । ‘सीपयुक्त जनशक्ति रोजगारदाता नभेट्टाउँदा वैदेशिक रोजगारीमा गइरहेका छन् । यहाँ भएको अवसर सदुपयोग भएको छैन । जसले बजारमा श्रमिक अभाव हुन थालिसकेको छ । यो खाडल हटाउन श्रम संसार एउटा साधन हो,’ उनले भने । 

श्रम मन्त्रालयका अनुसार श्रम संसार पोर्टललाई सन् २०२३ देखि विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो । त्यहाँ सफल भएपछि यो पोर्टलमा कोशी प्रदेशका १३७ वटै पालिका आबद्ध भइसकेका छन् । अब यसलाई ७५३ वटै पालिकामा जोड्न लागिएको हो । यसका लागि श्रम मन्त्रालयले स्वीस कन्ट्याक्टसँग साझेदारी गरेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully