काठमाडौँ — सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला ‘यस्तो हुन्छ’ भन्ने ठोकुवा गर्दै सर्वोच्चका अधिकृतले बुधबार लेखेको किर्ते पत्रलाई आधारभूत परीक्षण पनि नगरी प्रहरीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई करिब पााच घण्टा जेलमा राख्यो ।
चौतर्फी विरोधपछि चौधरी छुटेका छन् तर हचुवामा चल्ने राज्य संयन्त्रमाथि भने प्रश्न उठेको छ । सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई अदालतका अधिकृत र प्रहरी मिलेर डिल्लीबजार जेल पुर्याएका थिए ।
यो घटनालाई विभिन्न व्यक्तिका आ–आफ्नै मूल्यांकन छन् । कान्तिपुरकर्मी विवेक पोख्रेलले उक्त घटना प्रत्यक्ष रूपमा देखेका र सामेल भएका नेता/कार्यकर्ता, सुरक्षाकर्मीसहितका व्यक्तिसाग कुराकानी गरेर घटनालाई फरक–फरक नजरबाट देखाउने कोसिस गरेका छन् ।
बिहान : ७ बजे
रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति : लामो तयारीपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकीकरणको भव्य तयारी भइरहेको थियो । दिउँसो प्रज्ञा प्रतिष्ठानमा घोषणासभा थियो तर मेरो ‘फलोअप’ भएकाले बिहानदेखि नै ग्रान्डी अस्पतालमा थिएँ ।
बिहान : ९ बजे
अब्दुल खान, सांसद, जनमत पार्टी : बिहान ९ बजे पार्टी एकीकरण कार्यक्रमस्थल प्रज्ञा प्रतिष्ठान पुगेर त्यहाँ भइरहेको तयारीबारे जानकारी लिएँ । जिल्लाबाट आएका नेता/कार्यकर्ताहरू जम्मा हुँदै थिए । ब्यानर र कुर्सीहरू मिलाउने काम भइरहेको थियो । एकीकरणका लागि धेरै विषय मिले पनि असहमतिका केही विषय बाँकी थिए । त्यसैले ११ बजे बैठक बसेर बाँकी विषय टुंग्याउने र १ बजे पार्टी एकीकरणको घोषणा गर्ने कार्यसूची थियो । त्यसैले म त्यहाँ आधा घण्टा जति बसेर खाना खान निस्किएँ ।
बिहान : १० बजे
अरुणकुमार चौधरी (राज्यमन्त्री) : एकीकरणको घोषणा अघि १० बजे बानेश्वरमा रहेको एभरेस्ट होटलमा रेशम चौधरीसहित केही नेताहरू छलफलका लागि भेट भयौं ।
बिहान : ११:३० बजे
अब्दुल : साढे ११ बजे फेरि कार्यक्रमस्थलमा पुगें । तयारी पूरा भएको थियो । नेताहरू जम्मा हुँदै हुनुहुन्थ्यो ।
अरुणकुमार : ११:३० पछि हामी एभरेस्ट होटलबाट निस्किएर प्रज्ञा भवन गयौं । रेशम दाइ छुट्टै गाडीमा हुनुहुन्थ्यो । म छुट्टै गाडीमा थिएँ ।
मध्याह्न : १२ बजे
अरुणकुमार : म १२ बजे प्रज्ञा भवन पुगें । दुवै पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति उत्साहजनक थियो । सवा १२ बजे रेशम दाइ आइपुग्नुभयो । रेशम दाइ पदाधिकारीसहित सबैको जिम्मेवारी टुंग्याएर मात्र घोषणा गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । दुवै पार्टीका दोस्रो वरीयताका नेतासँग रेशम दाइ अनौपचारिक छलफल गर्दै हुनुहुन्थ्यो ।
अब्दुल : रेशमजी कागजपत्र मिलाउन र विधान प्रिन्ट गर्न भन्दै बाहिर निस्किनुभयो । हामी भित्रै थियौं ।
दिउँसो १ बजे
अरुणकुमार : रेशम दाइ साथी भेटेर १५ मिनेटमा आउँछु भनेर निस्किनुभयो । तर त्यही बेला नाटकीय रूपमा रेशम दाइलाई गेट नजिकैबाट प्रहरीले लगेको भन्ने सुनियो । म भवनभित्रै भएकाले देख्न पाइनँ । मैले थाहा पाउन्जेल डिल्लीबजार कारागार लगिसकिएको थियो । लगत्तै म त्यहाँ पुगें, पक्राउ पुर्जी हेरें । म सरकारको राज्यमन्त्री भए पनि यो विषयमा रनभुल्ल थिएँ । हामीले सोच्दै नसोचेको भयो ।
रञ्जिता : रेशमजी पक्राउ परेको सूचना १ बजेतिर पाउँदा म अस्पतालमै थिएँ । के भयो कसो भयो भन्ने पत्तै पाउन गाह्रो भयो । लगत्तै कारागार गएँ ।
टीकाबहादुर कुँवर, रेशमका वकिल : रेशमजीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आगामी असारमा मात्र थियो । तर, अचानक उहाँलाई सर्वोच्चकै पत्रका आधारमा पार्टीको कार्यक्रमस्थलबाटै पक्राउ गरियो भन्ने समाचार सुन्दा चकित परें । समाचारबाट मैले थाहा पाउँदा अपराह्न १ बजेको थियो । त्यसपछि तारन्तार फोन आउन थाले ।
तत्काल डिल्लीबजार कारागार पुगें । सीके राउत, रञ्जिता श्रेष्ठलगायतका नेता आइपुग्नुभएको थियो । रेशमजीलाई त जेलभित्र लगिसकिएको थियो, भेट्न सजिलो थिएन । कडाइ गरिएको रहेछ । पक्राउ गर्दा कारणबारे जानकारी समेत दिइएको रहेनछ । कारागार पुगेपछि मात्र पत्र दिइएको रहेछ । मैले पनि पत्र हेरें । तर पत्रको सन्दर्भ, भाषा, शैली सबै हेर्दा पहिलो नजरमै लाग्यो– यहाँ गडबड भइरहेको छ, गलत भइरहेको छ ।
दिउँसो १:१० बजे
प्रहरी उपरीक्षक अपिलराज बोहरा, प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं : अदालतबाट पत्र आएपछि ‘सिस्टम’ ले काम गरेको रहेछ, मैले त रेशम चौधरी कारागार गइसकेपछि मात्र पक्राउ परेको औपचारिक जानकारी पाएको हुँ ।
दिउँसो १:३० बजे
सीके राउत, अध्यक्ष, जनमत : पार्टी एकीकरण घोषणाको तयारी हुँदै थियो । रेशमजीलाई पक्राउ गरेपछि साढे १ बजेतिर घोषणा कार्यक्रम नगर्ने निर्णयमा पुग्यौं ।
अच्युत कुइँकेल, सहरजिस्ट्रार तथा प्रवक्ता, सर्वोच्च अदालत : साढे १ बजेतिर पत्रकारहरूको फोन आएपछि यसबारे जानकारी पाएको थिएँ । तर मलाई जानकारी नभएकाले यो विषयमा बुझ्न लागें । त्यसपछि मिसिल हेर्ने काम भयो । रेशम चौधरीको मुद्दा विचाराधीन रहेको र असारमा पेसी तोकिएको भेटियो । तर अदालतबाट आधिकारिक रूपमा कुनै आदेश वा औपचारिक पत्र पठाइएको देखिएन ।
बाबुराम अर्याल, कारागार प्रशासक (जेलर), डिल्लीबजार कारागार : १:३० बजे रेशम चौधरीलाई प्रहरीले यहाँ ल्याएका हुन् । त्यसपछि हामीले ब्लक नम्बर ‘ख’ मा लगेर राख्यौं । प्रहरीले ल्याएपछि स्थान दिने हाम्रो जिम्मेवारी हो, त्यही जिम्मेवारी पूरा गर्यौं ।
टीकाबहादुर कुँवर, रेशमका वकिल : रेशमजीलाई पक्राउ गर्नु गलत हो भन्ने शंका रहेन तर त्यसपछि कानुनी तयारी गर्नुपर्ने थियो । त्यसैले २:३० बजेतिर अफिस फर्किएँ ।
दिउँसो २ बजे
डीआईजी दिनेश आचार्य, प्रवक्ता, नेपाल प्रहरी : २ बजेसम्म अरू नै कार्यक्रमहरूमा व्यस्त थिएँ । मैले यो घटनाका बारेमा त २ बजे मात्र थाहा पाएँ ।
दिउँसो २:१५ बजे
अरुणकुमार : कारागारबाट म सवा २ बजे निस्किएँ ।
दिउँसो ३ बजे
अब्दुल : दुई दलबीच एकीकरणको घोषणासभा नै बिथोल्ने गरी रेशमजीलाई पक्राउ गरिएपछि हामी स्तब्ध थियौं । आगामी रणनीति के बनाउने भनेर दुवै पार्टीका शीर्ष नेताहरू बानेश्वरमा रहेको जनमत पार्टीको कार्यालयमा जम्मा भयौं । ३ बजे भेला भएर छलफलको सुरुवात गरेका थियौं, त्यसै बेला उहाँलाई पक्राउ गरिएको पत्र नै फर्जी भएको भन्ने समाचार आउन थाले । केहीबेरमा त पुष्टि नै भयो । त्यसपछि हामी फेरि कारागारतिर लाग्यौं ।
रञ्जिता : हाम्रो पार्टी सरकारमा छ, एक जना राज्यमन्त्री हुनुहुन्छ । तर दुई पार्टी एकीकरणको घोषणाअघि रेशमजीलाई कार्यक्रमस्थलबाटै किन पक्राउ गरियो ? सुरुमा त अलमल्ल परियो । करिब ३ बजेतिर प्रहरी महानिरीक्षकलाई फोन गरें । उहाँले ‘रेशमजी भूलवश पक्राउ पर्नुभएको रहेछ, छुट्नु हुन्छ’ भन्नुभयो ।
दिउँसो ३:५० बजे
डीएसपी बोहरा : प्रहरीले सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट जुन पत्र पााएको थियो, त्यो नै फर्जी रहेछ भन्ने थाहा भयो । यसको पुष्टि सर्वोच्च अदालत स्वयंले गर्यो । सर्वोच्चको पत्रका आधारमा ३:५० बजे प्रहरीको टोलीले महिमानसिंह विष्टलाई सर्वोच्चबाटै पक्राउ गर्यो ।
दिउँसो ४ बजे
टीकाबहादुर : अदालतमा पनि रेशमजीलाई पक्राउ गर्नका लागि तयार पारिएको पत्र अनधिकृत रहेको विषयमा छलफल भएको भन्ने जानकारी पाएँ । त्यसपछि म ४ बजेतिर सर्वोच्च पुगें । त्यहाँ रेशमजीलाई तत्काल रिहा गर्न पत्र तयार पारेर डिल्लीबजार कारागार पठाउन लागिएको थाहा पाएँ ।
अरुणकुमार : रेशम दाइलाई किन पक्राउ गरिएको हो ? षड्यन्त्र के हो ? किन राज्यले यसो गर्यो भन्नेमा सरोकारवालाहरूसँग सोधखोज गरिरहेको थिएँ, पछि पत्र नै नक्कली रहेको पुष्टि भयो । ४ बजेतिर फेरि कारागार पुगें । त्यहाँ रेशम दाइलाई रिहा गर्ने तयारी भइरहेको थियो ।
दिउँसो ४:३० बजे
अच्युत : रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको लेटरहेड र छाप दुरुपयोग गरेर अनधिकृत पत्र तयार गर्ने अधिकृतलाई प्रहरीले साढे ४ बजे पक्राउ गरेर लग्यो । चौधरीलाई तत्काल रिहा गर्नका लागि अर्को पत्र पनि तयार गरियो र प्रेस विज्ञप्ति पनि जारी भयो ।
बेलुका ५ बजे
बाबुराम : ५ बजेतिर सर्वोच्च अदालतबाट रेशम चौधरीलाई रिहा गर्न भनेर पत्र प्राप्त भयो । चौधरीलाई उनका बुबा र श्रीमतीको रोहवरमा छोडियो ।
बेलुका ५:३० बजे
रञ्जिता : कारागारबाट उहाँ साढे ५ बजे छुटेपछि सनराइज क्याफेमा नेता तथा कार्यकर्तासँग भेटघाट भयो ।
अब्दुल : डिल्लीबजार कारागारबाट रिहा भएपछि हामी नेता/कार्यकर्ता जम्मा भएको क्याफेमा पुग्यौं । त्यहाँ रेशमजी, रञ्जिताजी, जनमत पार्टीका प्रवक्ता शरद यादव र मैले सम्बोधन गर्यौं ।
रेशम : ‘आकाशैमा बादलु छैन पानी पर्यो करेली जालैमा, सामन्तको नाइके छैन कल्ले पार्यो माकुरी जालैमा’ बोलको गीत गाएर पार्टीका नेता/कार्यकर्तालाई सम्बोधन गर्न सुरु गरें । सँगै केही भजन र आफ्नै गीतको टुक्का पनि सुनाएँ । पार्टी एकताका विषयमा आफैंले भट्याएर देउसी खेलें ।
बेलुका ६:१५ बजे
अपिलराज : सवा ६ बजे परिसरबाट विज्ञप्ति जारी गरें ।
राती ८:३० बजे
अरुणकुमार : हामी साढे ८ मा कार्यक्रम स्थलबाट सबै छुट्टियौं । तर किन पक्राउ गरियो भन्ने प्रश्नको जवाफ खोज्दै छौं । यो विषय गम्भीर छ ।
