काठमाडौँ — सरकारले स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा 'इन्टर्न' प्रयोग गर्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी सेवामा इन्टर्नका रुपमा विद्यार्थी खटाउने बताए । स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने उनले घोषणा गरे ।
‘बढीमा सातामा २० घण्टाको कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दै नीति लागू गरिनेछ,’ उनले भने, ‘विकट भौगोलिक क्षेत्र लक्षित गरी आवासीय विद्यालय खोलिनेछ ।’ निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै शिक्षक दरबन्दी पुनरावलोकन गरिने र विश्वविद्यालयसँगको सहकार्यका शिक्षक बैंक स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।
