नेपाली छात्राको मृत्यु घटनामा शोक व्यक्त गर्दै भारतीय विदेश मन्त्रालयले भन्यो- 'प्रहरीले अनुसन्धान गरिरहेको छ'

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Expressing grief over the death of a Nepali student, the Indian Ministry of External Affairs said - 'Police is investigating'.

काठमाडौँ — भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थीको मृत्यु घटनामा भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गर्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको जनाएको छ ।

केआईआईटीमा नेपाली विद्यार्थीको निधनबाट गहिरो दु:ख व्यक्त गर्दै मन्त्रालयले यो कठिन समयमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । 

घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ओडिसा राज्य सरकारले मृतकका परिवारसँग समन्वय गरिरहेको र प्रहरीले घटनामा जाँच गरिरहेको पनि मन्त्रालयको भनाइ छ ।

भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिएको भन्दै विदेश मन्त्रालयले नेपाली अधिकारी, ओडिसा राज्य सरकार र व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । घटनाका सम्बन्धमा समयमै सञ्चार-समन्वय पनि भइरहेको उल्लेख गरेको छ ।

केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा बिहीबार फेला परेकी थिइन् ।

कान्तिपुर

Link copied successfully