काठमाडौँ — भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थीको मृत्यु घटनामा उक्त विश्वविद्यालयका प्रतिनिधिलाई बोलाई जानकारी लिएको नेपाली राजदूतावासले जनाएको छ ।
नयाँदिल्लीस्थित दूतावासले आज प्रेस विज्ञप्ति जारी गर्दै केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाको मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको पनि उल्लेख गरेको छ ।
घटना सम्बन्धमा राजदूत डा शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी निष्पक्ष छानबिन गर्न अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई १ मे २०२५ (बिहीबार) राति प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
