विद्यालय कर्मचारी परिषद्‌द्वारा आन्दोलनको घोषणा, सरकार र महासंघबीचको सहमतिमा असन्तुष्टि

वैशाख १९, २०८२

न्युज एजेन्सी नेपाल

Announcement of agitation by the school staff council, dissatisfaction with the agreement between the government and the federation

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौँमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारीहरूबीच वैशाख १७ गते ९ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो । तर, विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको 'धोकापूर्ण' वार्ताप्रति आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ । परिषद्ले महासंघ र सरकारलाई बुझाएको संस्थागत धारणाको मर्म विपरीत तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्ण रूपमा बेवास्ता गर्दै एकलौटी सहमति गरिएको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमार्फत परिषद्का महासचिव शान्तिनाथ योगीले महासंघ नेतृत्वले निजामती सरह ग्रेड मिलान, स्थायी तथा सबै प्रकारका शिक्षकहरूलाई दुर्गम भत्ता दिने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मावि द्वितीय श्रेणीका शिक्षक सरह बनाउनेलगायतका सहजातीय सेवा–सुविधा सुनिश्चित गर्न लबिङ गर्दै विद्यालय कर्मचारीलाई सडकमै छाडेकोप्रति आपत्ति जनाएका छन् ।

विद्यालय कर्मचारी परिषद्ले शिक्षक–कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गरिनुपर्ने, तलबमान कायम गरिनुपर्ने, उनीहरूलाई पनि दुर्गम भत्ता उपलब्ध गराइनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गरिनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले विद्यालय कर्मचारीको सेवा–सुविधालाई बेवास्ता गर्दै आफूहरूका ग्रेड समायोजन र दुर्गम भत्ताको विषय मात्रै उठाएको बताए । उनले सरकार र महासंघबीच भएको एकलौटी सहमति कदापि स्वीकार नगर्ने चेतावनी दिएका छन् ।

'उनीहरूले एक लाख तलब पाउँ, हामीलाई आपत्ति छैन । तर हाम्रो सेवा–सुविधालाई लात हानेर आफ्ना ग्रेड समायोजन गर्ने, दुर्गम भत्ताका कुरा ल्याउने ? त्यो कहीँ हुन्छ ? हामी कदापि मान्दैनौँ,' उनले भने, 'हामीले विगतमा सरकार र महासंघलाई हाम्रो तागत देखाइसकेका छौँ — जब ३९ दिन माइतीघरमा बसेर सहमति गरेका थियौँ ।'

परिषद्ले आन्दोलनका लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

यस्तै, परिषद्ले वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई मा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने, र जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी दिने निर्णय गरेको छ ।

न्युज एजेन्सी नेपाल

Link copied successfully