सडक संजाललाई स्तरीय बनाउन दीर्घकालीन योजना बन्दैछ : मन्त्री दाहाल

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

A long-term plan is being prepared to upgrade the road network: Minister Dahal

विराटनगर — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक सञ्जाललाई अझ स्तरीय बनाउन दीर्घकालीन योजना बनिरहेको बताएका छन् । उनले भने, 'आगामी १० वर्षभित्र पूर्वाधार विकासमा छलाङ मार्ने छ । त्यसका लागि थप २० खर्ब रुपैयाँ आवश्यक पर्छ ।' 

कोशी लगानी सम्मेलनको दोस्रो दिन विराटनगरमा आयोजित एक 'थिमेटिक सेसन' पछिको छलफलमा समृद्ध नेपाल निर्माणको चरणमा रहेको बताउँदै मन्त्री दाहालले सरकारले हालसम्म महत्वपूर्ण पूर्वाधारका काम अगाडि बढाइसकेको र लगानीमार्फत थप विकास सम्भव रहेको स्पष्ट पारे ।

उनले रेल, मोनोरेल र पोडवे जस्ता यातायात प्रणालीको विकासमा सरकारको विशेष जोड रहेको बताए । 'सम्पूर्ण यातायात प्रणालीलाई विद्युतीय बनाउने र सन् २०३० सम्म पेट्रोलियम साधन विस्थापित गर्ने लक्ष्य राखिएको छ,' उनले भने । उनले उर्जा क्षेत्रलाई देशको उज्यालो सम्भावना भन्दै नेपाल पहिलो पटक उर्जामा आत्मनिर्भर बन्न लागेको जानकारी दिए । उनले थपे,' अब नेपालले उर्जा आयात होइन, निर्यात गर्न थालेको छ ।'

लगानीमैत्री वातावरण निर्माणका लागि सरकार सधैं तयार रहेको बताउँदै उनले निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई विकास साझेदारका रूपमा अघि बढ्न आग्रह गरे । योजना, नीति र स्पष्ट दिशासहित नेपाल द्रुत विकासको बाटोमा अघि बढेको उनको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully