'कोशी प्रदेशमा उद्योग सञ्चालनका लागि अब कुनै बहाना छैन'

लगानीकर्तालाई निर्धक्क अघि बढ्न आह्वान गर्दै प्रधानमन्त्री ओलीले भने- ‘अब डराउनु पर्दैन, ढुवानीको बाटो खुलेको छ, सुरक्षाको जिम्मा सरकारले लिन्छ’

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

'There is no more excuse for the operation of industries in Koshi region'

विराटनगर — औद्योगिक नगरी विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीलाई लगानीको ‘हटस्पट’को रूपमा प्रस्तुत गरेका छन् ।

वीरेन्द्र सभागृहमा आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार, बलियो सडक सञ्जाल, कानुनी सुधार र अनुकूल भूराजनीतिक अवस्थालाई कोशी प्रदेशको लगानीमैत्री विशेषता बताउँदै उद्योग सञ्चालनका लागि अब कुनै बहाना नरहेको स्पष्टसमेत पारे । 

प्रधानमन्त्री ओलीले प्रदेशभर फैलिएको सडक सञ्जाललाई कोशीको औद्योगिक भविष्यका लागि निर्णायक आधारका रूपमा उल्लेख गरे । उनले हुलाकी राजमार्गअन्तर्गत कनकाई र कमलामा पुल निर्माण सम्पन्न भएसँगै चितवनसम्मको यातायात सहज भएको बताए । ‘माथिल्लो क्षेत्रमा एसियन मापदण्डअनुसार राजमार्ग निर्माण भइरहेको छ, उद्योग सञ्चालन हुँदासम्म आवश्यक सडक पूर्वाधार तयार भइसकेको हुनेछ,’ उनले भने ।

लगानीमैत्री पूर्वाधारका सम्भावनामा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमाबाट सामान आयात–निर्यात गर्न कोशी र कर्णाली नदीमार्फत जलमार्गको प्रयोग सम्भव भएको बताए । पानीजहाज सञ्चालनको सम्भावनाबारे अध्ययन भइरहेको जनाउँदै उनले यो उपाय ढुवानीलाई सहज, सस्तो र प्रभावकारी बनाउने विकल्पका रूपमा प्रस्तुत गरे । साथै, विराटनगर विमानस्थलको विस्तार गरिने घोषणा गर्दै उनले कोशी प्रदेशलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय आवागमनको केन्द्र बनाइने दाबी गरे ।  लगानीकर्तालाई निर्धक्क रूपमा अघि बढ्न आह्वान गर्दै ओलीले भने, ‘अब डराउनु पर्दैन, ढुवानीको बाटो खुलेको छ र सुरक्षाको जिम्मा सरकारले लिन्छ ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार लगानीकर्ताको ‘गारन्टर’ बन्न तयार रहेको दाबी गर्दै, निजी क्षेत्रको भरोसा जित्ने स्पष्ट सन्देश दिए । उनले प्रदेशमा लगानीका अवरोध हटाउन आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेको जानकारी दिँदै भने, ‘अब लगानी गर्न डराउनुपर्ने अवस्था छैन, झन्झट अन्त्य गरेर लगानीलाई पूर्ण रूपमा सुरक्षित बनाइनेछ ।’

कार्कीका अनुसार ७१ वटा परियोजनालाई एक वर्ष निरन्तर छलफल र समन्वयपछि मात्र सम्मेलनमा प्रदर्शन (सोकेसिङ) गरिएको हो । जसमा सबभन्दा बढी पर्यटनका २२, पूर्वाधार १९, उद्योग ११, कृषि १० तथा आइटीसहितका ४ वटा परियोजना छन् । 

लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले सम्मेलनले ठोस परिणाम दिन सुरु गरिसकेको जनाउँदै शुक्रबारसम्म केही परियोजनामा समझदारी (एमओयू) हुने जानकारी दिए । उनका अनुसार सम्मेलनमा भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरिया लगायत २० भन्दा बढी मुलुकका लगानीकर्ता सहभागी भएका छन्, जसले कोशी प्रदेशको अन्तर्राष्ट्रिय पहुँच र सम्भावनालाई उजागर गरेको छ । कोइरालाले भने, ‘विदेशीहरु पनि लगानी गर्न उत्साहित देखिएका छन् ।’ 

कान्तिपुर

Link copied successfully