काठमाडौँ — एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यही वैशाख २० र २१ गते हुने महाधिवेशनको तयारीसमेत पूरा भइसकेको जनाएको छ । महाधिवेशनमा देशभरका ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले जानकारी दिए । उनका अनुसार महाधिवेशन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।
महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए । महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित हुने उनले बताए ।
