जहाँबाट उठेको थियो नेपाली श्रमिक आन्दोलनको पहिलो स्वर

२००३ फागुन २० गते नेपाली श्रमिक आन्दोलन थालनीको पहिलो दिन हो। जुट मिल्सका श्रमिकहरूले नै आन्दोलनको सुरुआत गरेका थिए। त्यो आन्दोलनको शंखघोषचाहिँ यही चौतारोबाट भएको थियो । जसको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरेका थिए

वैशाख १८, २०८२

पर्वत पोर्तेल

From where the first voice of the Nepalese labor movement arose

विराटनगर — देशकै पुरानो उद्योग विराटनगर जुट मिल्नको पूर्वपट्टि, एउटा सामान्य देखिने चौतारो शान्त मुद्रामा उभिएको छ। तर, इतिहासको दृष्टिले यो चौतारो सामान्य मात्र होइन, क्रान्तिको साक्षी स्थल हो । जहाँबाट उठेको थियो नेपाली श्रमिक आन्दोलनको पहिलो स्वर । जहाँ रोपिएको थियो, क्रान्तिको पहिलो बीउ ।

‘यही चौतारोमा रोपिएको बीउ कालान्तरमा प्रजातन्त्रको विशाल वृक्षमा परिणत भयो,’ विराटनगर निवासी प्राध्यापक कृष्ण पोखरेलले भने, ‘त्यो बीउ थियो– श्रमिकको न्यायको आवाज, समानताको माग र निरंकुशताविरुद्धको प्रतिरोध ।’

चौतारो नजिकै लाग्थ्यो सानो हाट । तर त्यो साधारण बजार थिएन । दिनदिनै नाराबाजी, सभा र धर्ना–जुलुसले त्यो हाटको स्वरूप नै फेरिएको थियो । श्रमिक आन्दोलनपछि सानो बजारको नाम हड्ताली हाट रहन गयो । त्यहाँ दिनहुँ जसो हुन्थ्यो आन्दोलन । कहिले पिकेटिङ, कहिले जुलुस । श्रमिकहरू हड्तालमा उत्रिन्थे, नाराबाजी गर्थे । अनि प्रहरीका लाठीसँग पनि नडराई अडिन्थे ।

‘मजदुर आन्दोलनको केन्द्र नै यही चौतारो थियो,’ विराटनगर महानगरपालिका-१५ कि स्थानीय वृद्धा कविता मगर ती दिनहरू सम्झँदै भावुक हुन्छिन्, ‘गिरिजाबाबु, मनमोहन अधिकारीहरू त यहाँका अगुवा नै थिए । दिनभर उनीहरू यहीँ बसेर आन्दोलनको योजना बुन्थे ।’

विसं १९९३ ताका स्थापना भएको देशकै पहिलो औद्योगिक संस्था थियो जुट मिल्स । उसबेला २ हजार ४ सय श्रमिक र ४ सय हाराहारीमा कर्मचारी कार्यरत थिए । त्यो केवल औद्योगिक क्रान्तिको नमुना मात्रै थिएन, राजनीतिक आन्दोलनको पाठशाला पनि थियो । यही उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढ्यो । मजदुर आन्दोलनका नाममा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गर्‍यो ।

गिरिजाप्रसाद कोइराला, कम्युनिस्ट नेता मनमोहन अधिकारी, युवराज अधिकारी, तारिणीप्रसाद कोइराला र गेहेन्द्रहरि शर्मा यी सबै त्यसै उद्योगमा कामदार थिए । तर, उनीहरू टेबल कुर्सीको छेउमा बसेर क्रान्तिको सपना बुन्थे । आन्दोलनमा दार्जिलिङका कम्युनिस्ट नेता रतनलाल ब्राह्मणदेखि भारतीय समाजवादी नेताहरूको समेत ऐक्यबद्धता थियो ।

२००३ फागुन २० गते नेपाली श्रमिक आन्दोलन थालनीको पहिलो दिन हो । जुट मिल्सका श्रमिकहरूले नै आन्दोलनको सुरुआत गरे । त्यो आन्दोलनको शंखघोषचाहिँ त्यही चौतारोबाट भएको थियो । जसको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरेका थिए । ‘मजदुरहरूले उचित ज्याला र सुविधाको मागसहित धर्ना सुरु गरे । पहिले ज्ञापन पत्र बुझाए,’ विराटनगरका अगुवा दिनेश श्रेष्ठले भने, ‘उद्योग प्रशासनले मागप्रति बेवास्ता गरेपछि हडतालको शंखघोष भएको थियो ।’

उनका अनुसार नोना कोइराला, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरीहरू पनि आन्दोलनको अग्र मोर्चा उभिएका थिए । आन्दोलन लामै समय चल्यो ।

राणा शासनको उत्तरार्द्ध थियो । बडाहाकिमको आदेशमा काठमाडौँबाट ४ सय फौज मगाइयो । जुलुसमाथि कुनै चेतावनीबिना गोली चलाइयो । आधा दर्जन जति श्रमिकहरूले ‘वीरगति’ प्राप्त गरे । ‘त्यो घटनाले सिंगो देशै हल्लियो,’ विराटनगरका अगुवा जगत् अर्यालले भने, ‘आन्दोलनले बिस्तारै सत्याग्रहको रूप लियो । क्रान्ति सफल भयो । राणा शासनको अन्त्य भई प्रजातन्त्र आयो ।’

विराटनगर महानगर–१५ स्थित मिल्स एसियामा रहेको हड्ताली हाटको पुरानो चौतारो । जहाँबाट नेपालीमा पहिलो श्रमिक आन्दोलनको स्वर उठेको थियो । तस्बिर : पर्वत/कान्तिपुर

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully