२००३ फागुन २० गते नेपाली श्रमिक आन्दोलन थालनीको पहिलो दिन हो। जुट मिल्सका श्रमिकहरूले नै आन्दोलनको सुरुआत गरेका थिए। त्यो आन्दोलनको शंखघोषचाहिँ यही चौतारोबाट भएको थियो । जसको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरेका थिए
विराटनगर — देशकै पुरानो उद्योग विराटनगर जुट मिल्नको पूर्वपट्टि, एउटा सामान्य देखिने चौतारो शान्त मुद्रामा उभिएको छ। तर, इतिहासको दृष्टिले यो चौतारो सामान्य मात्र होइन, क्रान्तिको साक्षी स्थल हो । जहाँबाट उठेको थियो नेपाली श्रमिक आन्दोलनको पहिलो स्वर । जहाँ रोपिएको थियो, क्रान्तिको पहिलो बीउ ।
‘यही चौतारोमा रोपिएको बीउ कालान्तरमा प्रजातन्त्रको विशाल वृक्षमा परिणत भयो,’ विराटनगर निवासी प्राध्यापक कृष्ण पोखरेलले भने, ‘त्यो बीउ थियो– श्रमिकको न्यायको आवाज, समानताको माग र निरंकुशताविरुद्धको प्रतिरोध ।’
चौतारो नजिकै लाग्थ्यो सानो हाट । तर त्यो साधारण बजार थिएन । दिनदिनै नाराबाजी, सभा र धर्ना–जुलुसले त्यो हाटको स्वरूप नै फेरिएको थियो । श्रमिक आन्दोलनपछि सानो बजारको नाम हड्ताली हाट रहन गयो । त्यहाँ दिनहुँ जसो हुन्थ्यो आन्दोलन । कहिले पिकेटिङ, कहिले जुलुस । श्रमिकहरू हड्तालमा उत्रिन्थे, नाराबाजी गर्थे । अनि प्रहरीका लाठीसँग पनि नडराई अडिन्थे ।
‘मजदुर आन्दोलनको केन्द्र नै यही चौतारो थियो,’ विराटनगर महानगरपालिका-१५ कि स्थानीय वृद्धा कविता मगर ती दिनहरू सम्झँदै भावुक हुन्छिन्, ‘गिरिजाबाबु, मनमोहन अधिकारीहरू त यहाँका अगुवा नै थिए । दिनभर उनीहरू यहीँ बसेर आन्दोलनको योजना बुन्थे ।’
विसं १९९३ ताका स्थापना भएको देशकै पहिलो औद्योगिक संस्था थियो जुट मिल्स । उसबेला २ हजार ४ सय श्रमिक र ४ सय हाराहारीमा कर्मचारी कार्यरत थिए । त्यो केवल औद्योगिक क्रान्तिको नमुना मात्रै थिएन, राजनीतिक आन्दोलनको पाठशाला पनि थियो । यही उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढ्यो । मजदुर आन्दोलनका नाममा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गर्यो ।
गिरिजाप्रसाद कोइराला, कम्युनिस्ट नेता मनमोहन अधिकारी, युवराज अधिकारी, तारिणीप्रसाद कोइराला र गेहेन्द्रहरि शर्मा यी सबै त्यसै उद्योगमा कामदार थिए । तर, उनीहरू टेबल कुर्सीको छेउमा बसेर क्रान्तिको सपना बुन्थे । आन्दोलनमा दार्जिलिङका कम्युनिस्ट नेता रतनलाल ब्राह्मणदेखि भारतीय समाजवादी नेताहरूको समेत ऐक्यबद्धता थियो ।
२००३ फागुन २० गते नेपाली श्रमिक आन्दोलन थालनीको पहिलो दिन हो । जुट मिल्सका श्रमिकहरूले नै आन्दोलनको सुरुआत गरे । त्यो आन्दोलनको शंखघोषचाहिँ त्यही चौतारोबाट भएको थियो । जसको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरेका थिए । ‘मजदुरहरूले उचित ज्याला र सुविधाको मागसहित धर्ना सुरु गरे । पहिले ज्ञापन पत्र बुझाए,’ विराटनगरका अगुवा दिनेश श्रेष्ठले भने, ‘उद्योग प्रशासनले मागप्रति बेवास्ता गरेपछि हडतालको शंखघोष भएको थियो ।’
उनका अनुसार नोना कोइराला, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरीहरू पनि आन्दोलनको अग्र मोर्चा उभिएका थिए । आन्दोलन लामै समय चल्यो ।
राणा शासनको उत्तरार्द्ध थियो । बडाहाकिमको आदेशमा काठमाडौँबाट ४ सय फौज मगाइयो । जुलुसमाथि कुनै चेतावनीबिना गोली चलाइयो । आधा दर्जन जति श्रमिकहरूले ‘वीरगति’ प्राप्त गरे । ‘त्यो घटनाले सिंगो देशै हल्लियो,’ विराटनगरका अगुवा जगत् अर्यालले भने, ‘आन्दोलनले बिस्तारै सत्याग्रहको रूप लियो । क्रान्ति सफल भयो । राणा शासनको अन्त्य भई प्रजातन्त्र आयो ।’
विराटनगर महानगर–१५ स्थित मिल्स एसियामा रहेको हड्ताली हाटको पुरानो चौतारो । जहाँबाट नेपालीमा पहिलो श्रमिक आन्दोलनको स्वर उठेको थियो । तस्बिर : पर्वत/कान्तिपुर
