काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बिहीबार दुईजना पूर्वप्रधानमन्त्रीलसहित अन्य नेताहरूसँग भेटेका छन् । उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेका हुन् ।
भ्रमणको दोस्रो दिन उनले कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई पनि भेटेका हुन् । त्यस्तै, माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटेका छन् ।
चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् । भारतले गतसाता जम्मु कश्मिरस्थित पहलगाममा २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाको जिम्मेवार पाकिस्तानलाई मान्दै आएको छ ।
भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गर्दा चौथाइवालेले नेपाल र यहाँका नेताहरूको साथ आतंकवादको विरोधमा भारतको पक्षमा कायम रहोस् भन्ने सन्देश दिन खोजेका छन् ।
बुधबार काठमाडौं उत्रिएलगत्तै उनले राजनीतिक भेटवार्तालाई गति दिएका थिए । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटेका थिए । तीन दिनका लागि नेपाल भ्रमणमा आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ । त्यसबाहेक उनले सत्ता गठबन्धनका अन्य प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू र मधेसी मोर्चाका नेताहरूसँग भेट्ने कार्यक्रम छ ।
स्रोतका अनुसार पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तनावका सन्दर्भमा नेपालका राजनीतिक नेतृत्वलाई जानकारी गराउने र आतंकवाद विरूद्धको लडाइँमा समर्थन खोज्ने चौथाइवालेको भ्रमणको उद्देश्य देखिएको छ ।
