परासी — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको समयमा भएको सहमति कार्यान्वयन नगरेर सरकार र ठूला दलले मधेशी जनतालाई अन्याय गरेको आरोप लगाएका छन् ।
मधेश आन्दोलन र संघीयताको मर्मविपरीत 'एक मधेश एक प्रदेश' नदिएकाले अब संघीयताको पुनःसंरचना गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरेर निर्णायक आन्दोलन हुनुपर्ने बताए ।
जनता समाजवादी पार्टी पश्चिम नवलपरासीको प्रथम एकता जिल्ला अधिवेशनमा बोल्नेक्रममा अध्यक्ष यादवले देशमा शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही हुँदा देशले निकास नपाएको धारणा राखे । ‘हामीले पञ्चायत, राजतन्त्र फालेर संघीय गणतन्त्र ल्यायौ । देशमा शासन प्रणाली त फेरियो तर शासन गर्ने पात्र उही भए,’ उनले भने,‘नश्लीय सोच हाबी भएका राजनीतिक दल र तीनका नेताले गर्दा मुलुकको अवस्था फेरिन सकेन । भ्रष्टाचार मौलाउँदै गयो ।’
नेता यादवले चुनावको समयमा आफ्नो अधिकार र मुक्तिका लागि लड्ने राजनीतिक पार्टीलाई भोट नहालेर, एक दिन भोजभतेर खुवाउने दल र उम्मेदवारलाई मत हाल्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।
