भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा

कांग्रेस सभापति देउवा, गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणासँग भेटे, प्रधानमन्त्री ओली र विपक्षी दलका नेताहरूसँग भेट्दै 

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

BJP's foreign affairs chief Chathaiwale in Kathmandu

काठमाडौँ — नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् । बुधबार बिहान काठमाडौं ओर्लिएका उनले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटेका हुन् । 

कांग्रेस सभापति देउवा र देउवापत्नी परराष्ट्रमन्त्री राणालाई चौथाइवालेले संयुक्त रूपमै भेटेका थिए । उक्त भेटघाट बुढानीलकण्ठस्थित देउवा निवासमा भएको हो । त्यसअघि गृहमन्त्री रमेश लेखकसँग चौथाइवालेले भेटेका थिए । त्यस्तै, कांग्रेस नेता शेखर कोइरालासँग उनले बुधबार रातिसँगै डिनर गरेका छन् । 

तीन दिनका लागि नेपाल भ्रमणमा आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ । त्यसबाहेक उनको सत्ता गठबन्धनका अन्य प्रमुख नेता, प्रतिपक्षी दलका नेता र मधेशी मोर्चाका नेतासँग भेट्ने कार्यक्रम छ । राजनीतिक स्रोतका अनुसार पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तनावका सन्दर्भमा नेपालका राजनीतिक नेतृत्वलाई जानकारी गराउने र आतंकवादविरुद्धको लडाइँमा समर्थन खोज्ने चौथाइवालेको उद्देश्य भ्रमणको देखिएको छ । 

भारतले गतसाता जम्मु कश्मीरस्थित पहलगाममा २६ जनाको ज्यान जाने गरी गरिएको आतंकवादी हमलाको जिम्मेवार पाकिस्तानलाई मान्दै आएको छ । भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । गृहमन्त्री लेखकसँगको भेटमा चौथाइवालेले आतंकवादी हमलाको प्रसंगमा जोड दिएर कुराकानी गरेका थिए । उनले भारतको सुरक्षा चासो र आतंकवादको विरोधमा नेपालको समर्थनको प्रसंग लेखकसँग राखेका थिए । 

चौथाइवालेसँग भेटको प्रसंग उल्लेख गर्दै गृहमन्त्री लेखकले सामाजिक सञ्जाल ‘एक्स’ मा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक कुराकानी भएको लेखेका छन् । चौथाइवालेको नेपाल भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धलाई सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उनले भनेका छन् ।

पहलगाममा आतंकवादी हमला भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर आतंकवादी हमलाविरुद्ध ऐक्यबद्धता जनाएका थिए । ओलीले आतंकवादको निन्दा गर्दै नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको सामाजिक सञ्जालमार्फत धारणासमेत व्यक्त गरेका थिए ।

राजनीतिक भेटघाटमा चौथाइवालेले आतंकवादको विरोधमा नेपालले भारतलाई दिएको साथका लागि धन्यवादसमेत दिएका छन् । त्यसमा निरन्तरता कायम रहने अपेक्षासहितको ‘लबिइङ’ चौथाइवालेले नेपाली नेताहरूसँग गरेका छन् । उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully