प्रधानमन्त्री ‌ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

BJP leader Chathaiwale meeting with Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले बिहीबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

तीन दिने नेपाल भ्रमणमा आएका चौथाइवालेले बुधबार र बिहीबारका दुई दिनमै सत्तासिन र विपक्षी दलका गरेर प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १२ जना नेतालाई भेटेका छन् । बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुरु भएको दौडधुप बिहीबार साँझसम्मै जारी छ । बुधबार चौथाइवालेले लेखकका अलावा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र राति अबेर गरी कांग्रेस नेता शेखर कोइरालासँग डिनर भेटवार्ता गरेका थिए ।

चौथाइवालेको भेटघाटको श्रृंखला बिहीबार बिहानैबाट सुरु भयो । बिहीबार उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटे । साथै कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई बेग्लाबेग्लै भेटे । त्यस्तै उनले माओवादी नेता जनार्दन शर्मालाई छुट्टै भेटेका छन् ।

चौथाइवालेले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । 

गतसाता जम्मु कश्मिरस्थित पहलगाममा नेपालीसहित २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाको पृष्ठभूमिमा यो भ्रमण भएको देखिन्छ । चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् ।

भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गर्दा चौथाइवालेले नेपाल र यहाँका नेताहरूको साथ आतंकवादको विरोधमा भारतको पक्षमा कायम रहोस् भन्ने सन्देश दिन खोजेका छन् ।

कान्तिपुर

Link copied successfully