गभर्नरमा ६५ वर्ष नाघेकाले नियुक्ति पाउने मापदण्ड कार्यान्वयन नहुने

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

The criteria for appointing governors who are over 65 years of age will not be implemented

काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नरमा ६५ वर्ष नाघेका व्यक्तिले नियुक्ति नपाउने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ लाई कार्यान्वयन गर्नबाट तत्कालका लागि रोक लगाएसँगै गभर्नर नियुक्तिमा ६५ वर्ष नाघेका व्यक्तिले नियुक्ति नपाउने भएका हुन् । 

अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासले निरन्तरता हुने आदेश दिएका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी तथा सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासले अधिवक्ता थापालगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।   

सर्वोच्च अदालतले सार्वजनिक निकायमा ६५ वर्ष उमेर नाघेकालाई पदाधिकारी र सदस्य नियुक्त गर्नका लागि सरकारले मापदण्डमा गरेको संशोधन कार्यान्वयन तत्कालका लागि नगर्न भनेको हो । गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्ने बेला अर्थ मन्त्रालयले मापदण्डमा संशोधन गरी ६५ वर्ष उमेर पुगेकालाई पनि नियुक्त गर्ने प्रावधान राखेको थियो ।

‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत ६५ वर्ष उमेर पार गरेका व्यक्तिहरूलाई पदाधिकारी र सदस्य नियुक्त हुने बाटो खोलेको थियो ।  

सरकारले संशोधन गरेको मापदण्डमा अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय भनेर राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरणलगायत १५ वटा संस्था छन् । तत्कालका लागि राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लक्षित गरी उक्त मापदण्ड संशोधन गरिएको भन्दै सरकारको आलोचना भएको थियो भने सर्वोच्चमा रिट निवेदन परेको थियो ।

सर्वोच्च अदालतले गभर्नरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई नियुक्त गर्न नहुने भनी अधिवक्ता थापालगायतले दायर गरेको पूरक निवेदनबारे के आदेश जारी गरेको छ भन्ने केही उल्लेख छैन । न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासले ६५ वर्षविरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता भएपनि भट्टलाई नियुक्त नगर्न भनी दायर पूरक निवेदनमा के भनिएको छ भन्ने लिखित आदेश आएपछि थाहा हुने बताइएको छ । अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरताको लिखित आदेश भने शुक्रबार मात्रै आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully