‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

”The comment that nothing happened after the advent of the Republic is not correct”

कञ्चनपुर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन्।

बेलौरी नगरपालिकाको पर्यटकीय स्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिएका छन्।

उनले भने, 'कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्नेछ। अहिलेको युग सूचना प्रविधिको युग भएकाले आइटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ।'

गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको चर्चा गर्दै उनले हुलाकी राजमार्ग निर्माणको कार्य पनि अगाडि बढिरहेको बताए।

'गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन,' उनले भने, 'थुप्रै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्यहरू भएका छन्, तर जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्थ्यो, त्यो हुन सकेको छैन।'

कान्तिपुर संवाददाता

Link copied successfully