सप्तरीको बलान बिहुल–४ स्थित जनता आधारभूत विद्यालयका कार्यालय सहयोगी राधेश्याम पासवानलाई २०८० मंसिरमा सलहेश दलित आधारभूत विद्यालयमा र त्यसपछि राष्ट्रिय आधारभूत विद्यालयमा काज सरुवा गरियो, तर उनलाई हाजिर र तलबबाट वञ्चित गरिएको छ
राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापकको खेतमा काम नगर्दा काज सरुवा गरिएका कार्यालय सहयोगी डेढ वर्षसम्म पनि हाजिर हुन पाएका छैनन् । २३ वर्षअघि अस्थायी नियुक्ति पाएका राधेश्याम पासवान उक्त विद्यालयमा कार्यालय सहयोगी पदमा काम गर्दै आएका थिए ।
पछिल्लो पटक सरुवा भएर आएका प्रधानाध्यापक बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि आफूलाई हाजिर गर्न रोक लगाइएको पासवानको भनाइ छ ।
‘उहाँकी पत्नीसँग गएर खेतमा ५० किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो, तर मैले मानिनँ,’ पासवान भन्छन्, ‘त्यसको दोस्रो दिनबाट हाजिर गर्नै दिइएन । पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागें । तर त्यहाँ काज सरुवा भएको पत्र थमाइदियो ।’
गाउँपालिकाको ०८० मंसिर २६ को पत्रअनुसार पासवानलाई सोही वडास्थित सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालयमा काज सरुवा गरिएको छ । तर त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गराइएन । ‘फेरि १२/१५ दिन गाउँपालिकामा दौडधुप गर्दा राष्ट्रिय आधारभूत विद्यालयका लागि काज सरुवाको पत्र दिइयो तर त्यहाँ पनि हाजिर हुनै दिइएन,’ पासवान भन्छन्, ‘डेढ वर्षदेखि गाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु ।’
२०५९ वैशाख ५ मा अस्थायी नियुक्ति पाएका पासवानले डेढ वर्षदेखि तलब भत्ता पनि पाएका छैनन् । पासवानले पछिल्लो पटक २०८० भदौमा २० हजार ५ सय ३६ रुपैयाँ तलब पाएका थिए । ‘सुरुको तीन वर्षसम्म विद्यालयमा काम गर्दा तलबै पाइनँ, पछि लामो समयसम्म एक सय रुपैयाँ मात्र तलब पाउँदा पनि काम गरिरहें, तर अहिले जागिर नै अलपत्र परेको छ,’ उनी भन्छन्, ‘जागिर अलपत्र परेर गुजारा गर्नै समस्या भइरहँदासमेत दलित गरिबमाथि कसैले ध्यान दिएको छैन ।’
प्रधानाध्यापक यादव पदीय दायित्व पूरा नगरेकाले पासवानलाई कारबाही गरेको दाबी गर्छन् । भन्छन्, ‘विद्यालय परिसरमा बढेको झाडी काट्न अह्राएको थिएँ, उनले मानेनन्, त्यसैले विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गरेरै उनलाई कारबाही गरेको हुँ ।’
गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश मण्डल भने प्रधानाध्यापक यादवले बदमासी गरेको बताउँछन् । ‘पासवानलाई हाजिरै गर्न नदिएपछि तत्काललाई विवाद समाधान गर्न त्यो बेला काज सरुवा गरिएको थियो,’ उनको भनाइ छ, ‘जबकि उक्त विद्यालयमा एक जना मात्र कार्यालय सहयोगी थिए, मैले रोक्ने धेरै प्रयास गरें, तर सकिनँ ।’
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका सूचना अधिकारी कमलनाथ यादव स्थानीय तहले बनाएको कार्यविधि वा मापदण्डअनुसार काज सरुवा गरेको हुन सक्ने बताउँछन् । यद्यपि, गाउँपालिकामा विद्यालयका शिक्षक तथा कर्मचारीको काज सरुवासम्बन्धी मापदण्ड बनाइएको छैन ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल भन्छन्, ‘एक जना मात्र कार्यालय सहयोगी हुँदा पनि काज सरुवा गरिनु अव्यावहारिक हो, त्यसमाथि काज सरुवा गरेको ठाउँमा हाजिर गराउन नसक्नुले पनि गलत काम भएको पुष्टि हुन्छ ।’ आफूले निमित्तको जिम्मेवारी पाएको तीन महिना मात्र भएको र पासवान पीडित भएको घटनाको जानकारी पनि हालै मात्र पाएकाले शिक्षा शाखा र जनप्रतिनिधिसँग छलफल गरेर निर्णय लिने मण्डल बताउँछन् ।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले पासवासलाई अर्को विद्यालयमा हाजिर गराउन प्रयास भइरहेको जानकारी दिए । ‘अह्राएको कुरा नमान्दा हाजिर गर्न रोक लगाएको विषय मेरो जानकारीमा आएको छ,’ उनी भन्छन्, ‘राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीमा कार्यालय सहयोगी छैनन्, त्यहीं उनलाई राख्न खोजिरहेका छौं, तर वातावरण नबन्दा हाजिर गराउन सकिएको छैन ।’
