सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गर्ने

मन्त्रिपरिषद् बैठकपछि सहमति सार्वजनिक गरिने, शिक्षा ऐन बजेट अधिवेशनबाटै पारित गरिने

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Consensus between the government and the teachers, to be approved by the cabinet

काठमाडौँ — आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने जनाइएको छ ।

नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन् । उनले सहमति हुने गरी वार्ता चलिरहेको बताए । शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गराउन पूरा गराउने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ । शिक्षकसँग ७ बुँदामा सहमति भएको र त्यसलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने शिक्षा मन्त्रालय स्रोतले जनायो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका थिए । शिक्षा, स्वास्थ्य समितिमा रहेको विधेयक समितिले असारसम्म पेस गर्ने र यही अधिवेशनबाट पारित गर्ने गरी सहमिति भएको सभापति अम्बरबहादुर थापाले जनाए । वार्तामा गृहमन्त्री रमेश लेखक सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला सभापति थापा र विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छबिलाल विश्वकर्मा पनि सहभागी छन् ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजी गरेकाले वार्तामा सतारुढ दलका सचेतकहरु प्रतिबद्धताको लागि उपस्थिति भएको जनाइएको छ । केही मागहरु मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने, ऐन आउने सुनिश्चिता हुने भएपछि शिक्षकहरुले २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जनाएका छन् । ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully