शिक्षामन्त्री र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुँदै

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Talks are being held today between the Minister of Education and the protesting teachers

काठमाडौँ — शिक्षामन्त्री रघुजी पन्त र २८ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ ।

सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने बताइएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले छलफलमा बस्ने भनिए पनि समय यकिन नभएको जनाए । शिक्षकहरु प्रदर्शन सकेर बैठकमा जुटेका छन् । शिक्षकका माग सम्बोधन र आन्दोलन टुंगो लगाउने विषयमा शिक्षकहरूसँग छलफल केन्द्रित रहेको सापकोटाले बताए । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले बैठकपछि शिक्षा मन्त्रालय जाने समय यकिन हुने बताइन् ।

सोमबार सत्तारुढ कांग्रेस, एमालेका नेताहरुले शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरेका थिए । छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ । छलफलपछि शिक्षामन्त्री पन्त र शिक्षकहरु पुनः छुट्टै छलफलमा जुटेका थिए ।

मन्त्रिपरिषद्बाट आंशिक माग पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनी प्रस्ताव गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हडताल सहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully