एनआरएनको एकता महाविधेशनमा मेरो संलग्नता र सहभागिता छैन : संस्थापक अध्यक्ष महतो

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

I have no involvement and participation in the unity convention of NRN: Founder President Mahato

काठमाडौँ — गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आगामी मे ३ देखि ५ मा हुन गइरहेको एनआरएनको एकता महाधिवेशनमा आफ्नो संलग्नता र सहभागिता नरहने घोषणा गरेका छन् ।

‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियान पनि हो । यसर्थ, यस अभियानलाई विचलित पार्नेगरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पर्दछु,’ महतोद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु ।’

सर्वोच्च अदालतद्वारा पुर्नस्थापित गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले मे ३ देखि ५ मा एकताको महाधिवेशन गर्ने तयारी गरेको छ । सर्वोच्चले एनआरएनको उच्चस्तरीय समितिको पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन गराउन आदेश दिएको छ । महतो उच्चस्तरीय समितिका सदस्य हुन् ।

संस्थापक अध्यक्ष महतोले सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशन गर्न आवश्यक रहेको बताए । ‘अहिलेको विषम परिस्थितिलाई मनन गर्दै मैले एउटा प्रस्ताव अघि सारेको थिएँ । संस्थाको विधानअनुसार आगामी जुलाइमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्धारा सन् २०२५ को अगष्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौं,’ विज्ञप्तिमा भनिएको छ,‘ वैधानिक र कानूनी हिसाबले त्यो सम्भव थियो । र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरूरी थियो । यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुादाहुादै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन सकेन ।’

एनआरएन उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकताको महाधिवेशन नरोकिने बताएका छन् । समितिका अनुसार महाधिवेशनको लागि विश्वभरबाट तीन हजार प्रतिनिधि छानिएको छ । यो महाधिवेशनमा एनआरएनका अध्यक्ष बद्री केशी पक्षको सहभागिता छैन ।

कान्तिपुर

Link copied successfully