पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा, राजनीतिक भेटवार्तामा व्यस्त

भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंह, उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता भगतसिंह कोसियारी, कंग्रेस नेता जयराम रमेश, जनता दल युनाइटेडका नेता केसी त्यागी, बहुजन समाजवादी पार्टी राष्ट्रिय प्रवक्ता सुधीन्द्र भदौरिया तथा नेपालका लागि पूर्वराजदूतहरूसँग भेटवार्ता

वैशाख १६, २०८२

गंगा बीसी

Former Prime Minister Bhattarai in Delhi, busy with political meetings

काठमाडौँ — अनौपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक र कूटनीतिक भेटघाटलाई तीव्र पारेका छन् । छोरी मानुषी यमी भट्टराईसँगै दिल्ली गएका उनले भारतीय नेता र कूटनीतिज्ञहरूसँग भेटेका हुन् ।

भेटका क्रममा भारतीय नेताले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेको मानुषीले बताइन् । ‘नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? प्रमुख राजनीतिक दलबीच गठबन्धन किन फेरबदल भइरहेको छ भन्नेमा उहाँहरूले जिज्ञासा राख्नुभयो,’ मानुषीले भनिन् ।

नेसपा (नयाँ शक्ति) को प्रगतिशील नेपाल समाजको सम्मेलनको उद्घाटन गर्न शनिबार दिल्ली पुगेका भट्टराईले सोमबार भारतीय जनता पार्टी (भाजपा) नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशको सम्बन्ध, आर्थिक मामिलालगायत विषयमा कुराकानी भएको मानुषीले जानकारी दिइन् । ‘रक्षामन्त्री सिंहसँग नेपाल–भारत सम्बन्धका साथै विकास र आर्थिक मामलामा कुराकानी भयो,’ उनले भनिन्, ‘दुई देशको सम्बन्ध बलियो बनाई विकास र आर्थिक वृद्धिबारे विचार आदानप्रदान भयो ।’ 

सिंहसितको भेटमा भट्टराईले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजना तोकिएकै समयमा पूरा गर्न आग्रह गरेका थिए । सिंहले भारत सरकारले गर्नुपर्ने सहयोगबारे सुझाव मागेका थिए । ‘हाम्रो सहयोगमा सुरु भएका नेपालका परियोजनाको अवस्था के छ ? हामीले गर्नुपर्ने के छ ?’ भारतका रक्षामन्त्री सिंहको जिज्ञासा थियो । भट्टराईले आर्थिक वृद्धिको विषयमा जोड दिएको मानुषीले जानकारी दिइन् । सिंहको निवासमा करिब आधा घण्टा भएको भेटवार्तामा दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाए मात्र दुई पक्षीय हित हुने कुरा भएको थियो ।

भट्टराईले सोमबार नै जनता दल युनाइटेडका नेता केसी त्यागी, बहुजन समाजवादी पार्टी राष्ट्रिय प्रवक्ता सुधीन्द्र भदौरिया, उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता भगतसिंह कोसियारीसँग पनि भेटवार्ता गरेका छन् । भट्टराईले विपक्षी कंग्रेस आईका सांसद तथा पूर्वमन्त्री जयराम रमेशसँग पनि भेटेका छन् । कोसियारीले हिन्दु राज्यको प्रसंग उठाएको भट्टराईले सुनाए । ‘मैले धर्म र सांस्कृतिक आ–आफ्ना धारणा राख्न पाइन्छ । हिन्दुवादी विचार राख्नु आस्थाको कुरा हो । राजतन्त्र लोकतन्त्रविरोधी प्रणाली हो भनेँ,’ भट्टराईले भने । उनले शनिबार भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष मुरलीमनोहर जोशीसँग भेटेका थिए । 

नेपालका लागि भारतका पूर्वराजदूत, नेपालप्रति चासो राख्ने प्राध्यापकहरूसँग पनि भट्टराईको छलफल भएको छ । सोमबार नेपालका लागि भारतीय पूर्वराजदूतहरू श्याम शरण, राकेश सूद, रञ्जित रे, मञ्जिव सिंह पुरी एवं परराष्ट्र विज्ञहरू प्रा. एसडी मुनी, प्रा. अमिताभ मट्टु र वरिष्ठ सञ्चारकर्मी भारत भूषणसँग अनौपचारिक भेटघाट भएको थियो । मानुषीका अनुसार भेटमा पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्ध सुधारबारे धारणा राखेका थिए । 

दिल्लीमा भएको भेटवार्ताको जानकारी दिँदै भट्टराईले ईपीजीको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा भारत नरहेको बताए । ‘हाल नेपाल भारत सम्बन्धमा केही चिसोपन देखिएको छ । भारतीय राजनीतिक, कूटनीतिज्ञ र परराष्ट्रविद्को यसलाई हल गर्ने भन्नेबारे जिज्ञासा थियो । रक्षामन्त्री राजनाथ सिंहले पनि दुई देशबीच समस्या कसरी हल गर्न सकिन्छ भन्नेबारे चासो थियो,’ उनले भने, ‘दुई देशका प्रधानमन्त्रीले खुलेर कुराकानी गरी समस्या हल गर्न जोड दिए । भाजपा नेताहरूमा ईपीजी प्रतिवेदनमार्फत अघि बढ्न सम्भव छैन भन्ने रहेछ ।’

नेपालको राजनीतिक अस्थिरताबारे भारतीय नेताको चासो छ : बाबुराम भट्टराई, नेपाल समाजवादी (नयाँ शक्ति), अध्यक्ष

दिल्लीमा राजनीतिक, कूटनीतिक भेटघाट तीव्र पार्नुभएको छ, के कुराकानी भयो ?

पार्टीको प्रगतिशील नेपाली समाजको अधिवेशनका लागि दिल्ली आएको हुँ । सोमबार राजनीतिक र कूटनीतिक भेटघाट भयो । यहाँका राजनीतिज्ञ र कूटनीतिज्ञमा नेपालको राजनीतिक अस्थिरता देखिनुका कारण के हो ? कतै लोकतन्त्रविरुद्ध जान लागेको हो ? भन्ने जिज्ञासा रहेछ । मैले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नभएर खासगरी निर्वाचन प्रणाली, शासकीय प्रणालीमा भएको त्रुटिका कारण केही अस्थिरता देखिएको हो भनें । साथै आम मानिसमा केही असन्तुष्टि छन्, त्यसलाई सम्बोधन गरेर जानुपर्छ भन्ने धारणा राखेँ ।

नेपालको राजनीतिक अवस्थाबारे भारतीय नेताको धारणा कस्तो पाउनुभयो ? 

नेपालमा लोकतान्त्रिक गणतान्त्रिक प्रणालीका बारेमा प्रश्न उठ्न लागेको हो कि भन्ने आशंका रहेछ । नेपालमा भएको आक्रोश पुरानो प्रणाली भत्काउनेतिर नभई सुशासन र आर्थिक मुद्दासँग जोडिएको भनेर प्रस्ट पारेँ । मैले हालकै व्यवस्थालाई सुधार गरी अघि जानुपर्नेमा जोड दिएँ । नेपालका लागि भारतका पूर्वराजदूतहरू, परराष्ट्रविद्सँग दुई देशसम्बन्धबारे राम्रो समीक्षा भयो । उहाँहरूको नेपालबारे गहिरो चासो रहेछ । 

भारतीय नेताबाट हिन्दु राष्ट्रका बारेमा पनि चासो राखियो भनिन्छ नि ?

बीजेपीका मुरलीमनोहर जोशी, भगतसिंह कोशियारीको नेपालमा सांस्कृतिक एकरूपता भए राम्रो हुन्छ कि भन्ने चासो थियो । तर मैले धर्म र सांस्कृतिक आ–आफ्ना धारणा राख्न पाइन्छ । हिन्दुवादी विचार राख्नु आस्थाको कुरा हो । राजतन्त्र लोकतन्त्रविरोधी प्रणाली हो, यो नेपालमा आउन सम्भव छैन भनेर जोड दिएँ । 

दुई देशबीचको सम्बन्धबारे के कुरा भयो ?

सम्बन्धमा केही चिसोपन देखिएको छ । यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा सबैको चासो थियो । रक्षामन्त्री राजनाथ सिंह त यसबारे खुलेर कुराकानी भयो । मैले दुई देशका प्रधानमन्त्रीले प्रष्ट सम्वाद गरेर समस्या हल गर्नुपर्नेमा जोड दिएँ । 

भाजपा नेतासँग भएको छलफलमा ईपीजी प्रतिवेदनका आधारमा अघि बढ्दा राम्रो हुने सुझाव दिएँ तर भाजपा नेताहरूमा ईपीजी प्रतिवेदनमार्फत अघि बढ्न सम्भव छैन भन्ने रहेछ । यो प्रतिवेदन कार्यान्वयनका लागि होइन भन्ने उहाँहरूको बुझाइ रहेछ । त्यसो हो भने प्रधानमन्त्री तहमा खुला संवाद गरेर नेपाल र भारतबीच सीमा समस्या, १९५० को सन्धिलगायतका विषय कूटनीतिक तहबाट हल गर्नेमा सबैको जोड थियो ।

गंगा

Link copied successfully