सत्तामा बस्ने थाक्लान्, तर शिक्षक आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

They are tired of staying in power, but teachers don't run away from the movement: President Subedi

काठमाडौँ — नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनलाई बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्।

विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनको २७औँ दिन सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आइतबारको आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले घोर भर्त्सना गरेको बताए।

अध्यक्ष सुवेदीले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरूले ढुंगामुढाको अवस्था सिर्जना गरेर प्रहरी दमन गराएको आरोप लगाए। उनले भने, 'सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन्, तर आन्दोलनमा उत्रिएका शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलनबाट भाग्दैनन्।'

उनका अनुसार शिक्षकहरूको २४ बुँदे मागमध्ये तत्काल कार्यान्वयन गर्न सकिने १६ बुँदाको कार्यसूची सरकारले तयार पारेको छ र त्यही आधिकारिक दस्ताबेज हो।

अध्यक्ष सुवेदीले थपे, '२७औँ दिनमा पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन्। यी शिक्षक कर्मचारी साथीहरू थाक्दैनन्, गल्दैनन्, भाग्दैनन्। हिजो प्रहरीले बर्बरताको पराकाष्ठा देखायो। शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि हेलमेटधारी भिजिलान्तेहरू प्रयोग गरी ढुंगामुढा गराइयो र त्यही निहुँमा प्रहरीद्वारा लाठीचार्ज र पानीको फोहोरा प्रहार गरियो। हामी यसको घोर भर्त्सना गर्छौँ।'

उनका अनुसार आइतबारको घटनामा ६२ जना शिक्षक घाइते भएका छन्। 'घाइतेहरू आँखा चिम्लिँदै, खुट्टा खोच्याउँदै , टाउकोमा पट्टी बाँधेर पनि फेरि आन्दोलनको मोर्चामा फर्किएका छन्,' उनले भने।

अध्यक्ष सुवेदीले केही समूहले आन्दोलनलाई विभाजन गर्न अफवाह र कुप्रचार गरिरहेको बताए। उनले आन्दोलनप्रति सचेत रहन शिक्षकहरूलाई आग्रह गरे।

उनले भने, 'कहिले पाँच बुँदे, कहिले सात बुँदे त कहिले नौ बुँदे सम्झौताको अफवाह फैलाइएको छ। तर हामीले नेपाल सरकारसँग २४ बुँदे कार्यसूची पेस गरेका छौँ। यही नै हाम्रो आधिकारिक दस्ताबेज हो।'

सुवेदीले अन्त्यमा भने, '६२ जना मात्र होइन, आवश्यकता परे ६२ हजार शिक्षक घाइते हुन तयार छन्। शिक्षा ऐन जारी नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन।'

कान्तिपुर

Link copied successfully