सोलुखुम्बु — सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानमा पुनः खुम्बु पासाङल्हामु गाउँपालिकाले रोक लगाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको बैठकमा हेलिकोप्टर उडानमा केही लचक भएको पालिका फेरि प्रतिबन्ध गराउने निष्कर्षमा पुगेको हो ।
सगरमाथा राष्ट्रिय निकुन्जले हेली उडाउन लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै हेलिकोप्टर कम्पनीहरुले व्यावसायिक उडान थालेका थिए । आरोहण सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा दैनिक दर्जनौं हेलिकोप्टरले व्यावसायिक उडान गरिरहेका बेला स्थानीय सरकारले सोमबार विज्ञप्ति जारी गर्दै उडानमा प्रतिबन्ध लगाएको हो ।
गाउँपालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले विज्ञप्ति जारी गर्दै लुक्लाभन्दा माथि रेस्क्यु, कार्गो र माउन्टेन फ्लाइट बाहेक अन्य सबै प्रकारका व्यावसायिक हेलिकोप्टर उडानहरु पूर्णरुपमा निषेध गरिएको बताएका छन् । पालिकाले अव्यवस्थित हेलिकोप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरुमा नकारात्मक असर परेको दाबी गरेको छ ।
केही हेलिकोप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरुले व्यावसायिक हेलिकोप्टर उडान गरिरहेको भन्दै पालिकाले अबदेखि हेलिकोप्टर उडाएमा त्यसबाट सिर्जना हुनसक्ने परिस्थितिहरुको जिम्मेवारी हेलिकोप्टर व्यवसायी, प्याकेज बेच्ने पर्यटन व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयंले सामना गर्नुपर्ने चेतावनी पालिकाले दिएको छ । निर्णयको कार्यान्वयन गर्न स्थानीय संघ संस्था, नागरिक समाज, ट्रेकिङ व्यवसायी, गाइड, पर्यटनसाग सम्बन्धित सरोकारवाला तथा सम्पूर्ण स्थानीयवासीहरुलाई सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।
यता हेलिकोप्टर कम्पनीहरुले व्यावसायिक उडान गर्न पाउनु पर्ने बताईरहेका छन् ।
