काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।
पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, 'दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ ।'
मन्त्री पाण्डेले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशील रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको बताए । प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेकयमा प्रबन्ध गरिने उनले स्पष्ट पारे ।
'हिजोदेखि नै संशोधनको कार्य प्रारम्भ भएको र आजदेखि ७२ घण्टे अवधिमा थुप्रै संशोधनका प्रस्ताव आउनेछन्,' उनले भने, 'मन्त्रालय वा सरकार कुनै किसिमको जडता नपालीकनै संशोधनहरूमाथि सार्थक संवाद गर्न तयार छ । विधेयकलाई समृद्ध बनाउने दिशामा दृढ सङ्कल्पका साथ अगाडि बढौँ ।'
विधेयकमा सकारात्मक उपलब्धि प्राप्ति गर्ने दिशामा सबै सरोकारवालासँग पनि छलफल गरिने उनले बताए । भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले दृढताका साथ काम गर्ने पनि मन्त्री पाण्डेको भनाइ थियो ।
