काठमाडौँ — नागरिक उड्डयन क्षेत्र सुधारका लागि कांग्रेस सांसद राजेन्द्र बजगाईंले एक दर्जन सुझावका बुँदा राखेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको कार्यशैलीमा प्रश्न उठाउँदै कांग्रेस सांसद बजगाईंले नेपालकाे नागरिक उड्डयन क्षेत्र सुधार गर्न सुझाव राखेका हुन् । उनले विमानस्थलमा 'सेक्युरिटी फर्स्ट' काे मान्यता अपनाउनुपर्ने सुझाएका छन् । विमानस्थलमा कडा सुरक्षा र निरीक्षण मापदण्ड लागू गर्नुपर्ने उनकाे भनाइ छ । यात्रुहरूका लागि फिर्ती, ढिलाइ र गुनासो निवारणमा स्पष्टता हुनुपर्ने तथा पाइलट, चालकदल र एयरलाइन्सका लागि कडाइयुक्त प्रक्रिया अवलम्बन गर्नुपर्ने उनको सुझाव छ ।
हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण, निजी लगानी प्रवर्द्धनसहित कडा नियमन हुनुपर्ने पनि बजगाईंकाे सुझाव छ । 'विमानस्थल र उडानको सुरक्षा बलियो बनाउने, एकाधिकार रोकथाम र भाडादर नियमन, उत्सर्जन कटौती र हरित प्रविधि प्रवर्द्धन, ड्रोन तथा यूएभी सञ्चालनका लागि स्पष्ट नियम हुनुपर्ने,' उनको सुझावमा छ, 'स्वतन्त्र र पारदर्शी दुर्घटना अनुसन्धान प्रक्रिया अपनाउने, अन्तर्राष्ट्रिय उड्डयन सम्झौताहरूको पालना गर्नेऽ ड्रोन, उड्ने ट्याक्सी र हरित इन्धन प्रवर्द्धन गर्ने ।'
नेपालको उड्डयन मन्त्रालयलाई नवीनता र सुधारको ठूलो अपेक्षा बोकेको मन्त्रालयका रूपमा हेरिएकाे उनले बताएका छन् । अन्तर्राष्ट्रिय महासन्धिहरूको मर्म र आईकाओको सिफारिसमा आधारित रहेर प्रस्तावित विधेयकलाई टुंगोमा पुर्याउन मन्त्रीले सचेत हुनुपर्ने सांसद बजगाईंकाे भनाइ छ ।
यथाशीघ्र स्पष्ट कार्ययोजना र व्यावहारिक निर्णयमार्फत मात्रै नेपाली उड्डयन क्षेत्रको छवि अन्तर्राष्ट्रिय स्तरमा सुधार गर्न सकिने बजगाईंले बताए ।
