देशभर आन्दोलन : १३ दिनमै डेढ सयभन्दा बढी प्रदर्शन

वैशाख १५, २०८२

विवेक पोख्रेल

Movement across the country: more than 150 demonstrations in 13 days

काठमाडौँ — शिक्षकहरु काठमाडौंको सडकमा आफ्ना मागसहित झन्डै एक महिनादेखि प्रदर्शनमा छन् । सरकारको बेवास्ताका कारण उनीहरुको प्रदर्शन कहिलेसम्म चल्ने हो कुनै टुंगो छैन । त्यसैमा केही दिनअघिदेखि चिकित्सकहरुको आन्दोलन पनि थपिएको छ ।

देशमा शिक्षक र चिकित्सकमात्र हैन विभिन्न संघसंस्था तथा राजनीतिक दलले वैशाख १ गतेदेखि १३ गतेसम्म १६९ ठाउँमा तालाबन्दी, ८१ वटा विरोध र्‍याली/सभा, ७९ वटा धर्ना, ८ वटा कोण सभा र ४ हडताल गरेको प्रहरी प्रधान कार्यलय नक्सालको तथ्यांकमा छ ।

हडताल भने कोशी प्रदेशमा मात्र भएको प्रहरीले बताएको छ । यो अवधिमा ७ वटा सडकमा अवरोध भएका छन् भने ३ वटा सवारी साधन तोडफोड भएका छन् । प्रहरी तथ्यांक अनुसार एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् । प्रहरीले १३ दिनमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । यसका साथै ४ जनाले आफ्नो मागसहित अनसन बसेका छन् । यी विरोध कार्यक्रममा १४ हजार ८८ सुरक्षाकर्मी खटिएका थिए ।

यसरी हेर्दा नयाँ वर्षको सुरुवातसँगै देशभर आन्दोलनको लहर चलेको देखिन्छ । जसले आम नागरिकको दैनिकीमा प्रत्यक्ष असर गरेको छ । प्रदर्शन र आन्दोलनले ट्राफिक अस्तव्यस्त भएको छ भने यात्रुहरुले समेत सडकमा सास्ती पाएका छन् ।

आइतबार मात्र शिक्षकहरुको आन्दोलनमा प्रहरी र शिक्षकबीच मुठभेड हुँदा पाँच प्रहरी, एक पत्रकारसहित ६२ शिक्षक घाइते भएका छन् ।

प्रदेशको कुरा गर्ने हो भने लुम्बिनी प्रदेशमा कुनै पनि प्रकारका विरोध कार्यक्रम भएका छैनन् । वैशाख १३ गतेसम्म सबैभन्दा धेरै विरोध, र्‍याली, सभा र तालाबन्दी बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा यो समयमा ५१ विरोध र्‍याली र सभा भए । त्यसमध्ये २८ वटा र्‍याली काठमाडौं उपत्यकाभित्र भएका हुन् । 

यस्तै, कोशी र मधेश प्रदेशमा ९/९ वटा विरोध र्‍याली र सभा भएका थिए । गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा २ वटा विरोध र्‍याली र सभाका कार्यक्रम भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशीमा एक/एक ठाउँमा तालाबन्दी हुँदा बागमती प्रदेशभित्र १६५ ठाउँमा तालाबन्दी भएका थिए । त्यसमध्ये पनि १६४ वटा तालाबन्दीको घटना काठमाडौं उपत्यकाभित्रको हो ।

यो बीचमा १३ वटा कर्णाली प्रदेशमा, ८ वटा गण्डकी प्रदेश, एउटा मधेश प्रदेशमा धर्नाका कार्यक्रम भएका थिए । बागमती प्रदेशमा ५७ वटा धर्ना कार्यक्रम भएका थिए । तीमध्ये ५६ वटा धर्ना कार्यक्रम काठमाडौं उपत्यकाभित्र भएका थिए । कोशी प्रदेशमा ३, गण्डकी प्रदेशमा २ कोण सभा हुँदा मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा एक/एक कोणसभा भएका थिए । 

यस्तै, ३ वटा अनसन कोशी प्रदेश र १ अनसन बागमती प्रदेशको काठमाडौंमा बसेको थियो । विरोधका कार्यक्रममा मधेश प्रदेशमा ४, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा २ वटा बाटो समेत अवरोध गरिएका थिए । विरोध कार्यक्रममा कोशी प्रदेशमा ३ वटा सवारी साधन तोडफोड भएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्य यस्ता विरोध कार्यक्रमले प्रहरीको नियमित काममा प्रभाव पर्ने बताउँछन् । ‘विरोध कार्यक्रम किन भएका छन् भन्ने कुरा त हामी क्षत्रका कुरा हैन,’ आचार्यले भने, ‘यसरी हुने कार्यक्रममा प्रहरीको  जिम्मेवारी बढ्नेसँगै नियमित काममा असर पार्छ ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully