काठमाडौँ — हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले गत मार्च २८ तारिख म्यानमारमा गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सहर माण्डलेमा घाइतेहरूको शल्यक्रिया एवं उपचार गरेका छन् ।
उक्त भूकम्पबाट मुख्यतया सागाइन र माण्डले प्रदेश र म्यानमारको राजधानी नेपितोमा ठूलो मात्रामा धनजनको क्षति भयो । म्यानमारको सैनिक सरकारले मृतकको संख्या करिब चार हजार भएको घोषणा गरेको थियो भने विभिन्न गैरसरकारी स्रोत अनुसार मृतक र पत्ता नलागेको व्यक्तिहरूको संख्या छ हजार छ । म्यानमारको लोकतान्त्रिक आवाज नामक संस्थाका अनुसार घाइतेहरूको संख्या ११ हजार जति छ ।
सवैभन्दा क्षतिग्रस्त सहरमध्ये एक माण्डले म्यानमारको दोस्रो ठूलो सहर हो । डा. केसीले सेवा माण्डले अर्थोपेडिक (हाडजोर्नी) अस्पताल र माण्डले जनरल अस्पतालमा १६ लिन स्वंयसेवा गरी घाइतेको शल्यक्रिया तथा अन्य प्रकारका उपचार प्रक्रियामा सरिक भएका हुन् । त्यसअविधमा उनले वार्ड राउन्ड तथा ओपिडी तथा जरूरी सेवा र स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण दिएका छन् ।
सन् २००८ मा म्यानमारमा गएको समुद्री नर्गिस आँधीबेरीले धनजनको ठूलो क्षति पुर्याएको बेला डा. केसीको पहिलोपटक म्यानमारमा गएर सेवा गरेका थिए । नेपाली राजदूतहरूको र प्रभावशाली बर्मेली चिकित्सकहरूको अथक प्रयासका बाबजुद पनि आधिकारिक अनुमति प्राप्त बिना नै उनले घाइतेहरूलाई आवश्यक उपचार सेवा गरेका हुन् ।
