‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उनीहरूका माग पूरा गर्नुहोस्’

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

”Don't suppress the protesting teachers, fulfill their demands”

काठमाडौँ — आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे।

उनीहरूले सरकारले वार्तामार्फत शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरु गर्ने अवस्था बनाउन जोडदार माग गरे।

सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे। 'आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ। आन्दोलनमाथि सरकारी दमनको भर्त्सना गर्दछु,' सांसद ज्वालाले भने। उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानाकर्षण गराए।

सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । 'हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,' सांसद अर्यालले भने। उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे।

यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानाकर्षण गराइन् ।

अर्का सांसद डा. तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइन् । उनले तत्काल गल्छी फराकिलो बनाउनका लागि ढुङ्गा निकाल्ने अवस्था सिर्जना गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद निशा डाँगीले डिजिटल नेपालको परिकल्पना कार्यान्वयनमा जोड दिइन् ।

सांसद दीपकबहादुर सिंहले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद नागिना यादव, पुष्पबहादुर शाह र प्रतिमा गौतमले नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्ने अभिव्यक्ति प्रमाणहीन भएको भन्दै आपत्ति जनाए । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बिना प्रमाण र आधारहीन आरोपपूर्ण अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए ।

यस्तै, सांसद ठाकुरप्रसाद गैरेले पाल्पा जिल्लाको सिद्धेश्वरमा आइतबार राति भएको दुर्घटनामा मृतकहरूको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको गराउन माग गरे।

कान्तिपुर संवाददाता

Link copied successfully