काठमाडौँ — कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर नजाने चेतावनी दिएका हुन् ।
उनले राजनीतिक उपलब्धिका सम्बन्धमा आम नागरिकमा सन्तोष रहे पनि अहिले ठूलो बेचैनी र असन्तोष रहेको बताए ।
थापाले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक परिवर्तनपछि पनि आम नागरिकको जीवनमा अपेक्षित सुधार नआउनु रहेको बताए । असन्तुष्टि र बेचैनी हटाउन जरुरी रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य दायित्व पनि यही रहेको स्पष्ट पारे । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकट समाधान गरेर अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेसले महसुस गरेको कुरा के हो भने, राजनीतिक उपलब्धिहरूका बाबजुद आज आम नागरिकहरूमा बेचैनी र असन्तोष देखिन्छ । यसको मुख्य कारण भनेको हामीले सिर्जना गरेको राजनीतिक अवस्थापछि जनताको जीवनमा अपेक्षित सुधार आउन नसक्नु हो । नागरिकले अपेक्षा गरेका परिवर्तनहरू समयमै नआउँदा असन्तोष बढेको हो । तर, हामी असन्तुष्टिको कारोबार गर्नु हुँदैन भन्ने ठान्छौँ । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन, सम्बोधन गर्दै अघि बढ्नुपर्छ । यही सोचका साथ काम गर्दै जाने हाम्रो प्रतिबद्धता हो ।’
महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यअनुसार नै सरकार अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरता नहुने स्पष्ट पारे । सरकारमा बस्नका लागि मात्रै नभई परिणाममुखी ढंगले काम गर्नुपर्ने उनले बताए ।
थापाले केही समयअघि संसद्ले केही कानुनहरू पारित गरेको उल्लेख गर्दै त्यसलाई प्रारम्भिक उपलब्धि मात्र मानेको बताए । उनले भने, ‘त्यसले सकारात्मक वातावरण त ल्याउँछ, तर पर्याप्त होइन । अहिलेको समयलाई प्रयोग गरेर नागरिकका असन्तुष्टि हटाउनतिर लाग्नुपर्छ ।’
