सत्तारुढ दलका नेता र शिक्षक महासंघबीच संवाद जारी

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Dialogue continues between the leaders of the ruling party and the teachers' federation

काठमाडौँ — सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक महासंघका पदाधिकारीबीच संवाद सुरु भएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार शिक्षकहरुको माग र २७ दिनदेखि जारी आन्दोलन टुंगो लगाउने विषयमा संवाद केन्द्रित छ ।

‘कुराकानी सकारात्मक भए आजै मन्त्रिपरिषद्‌बाट केही निर्णय हुन सक्ने सम्भवना पनि छ,’ ती नेताले भने । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा जारी छलफलमा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना सहभागी छन् । सत्तारुढ दलका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा सहभागी छन् ।

अर्थमन्त्री पौडेल, गृहमन्त्री लेखक, शिक्षामन्त्री पन्त र महामन्त्री थापा यसअघि देखि नै शिक्षकहरुसँग अनौपचारिक संवादमा थिए । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्का गरेको ७ बुँदे प्रस्तावको वरिपरि मन्त्रिपरिषद्‌बाट शिक्षकका आंशिक मागहरु सम्बोधन भए महासंघले आन्दोलनको स्वरुप फेर्न सकिने जनाउँदै आएको छ ।

यद्यपि महासंघले शिक्षामन्त्री पन्तलाई मन्त्रिपरिषद्‌बाट निर्णय हुनुपर्ने भन्दै ९ बुँदे प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्‌बाट आंशिक माग पूरा भए शिक्षकहरु शैक्षिक हडताल फिर्ता लिएर कक्षाकोठामा फर्कन तर विद्यालय शिक्षा ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन जारी राख्ने गरी राजनीतिक तहमा कुराकानी भएको महासंघका पदाधिकारीहरु बताउँछन् । महासंघले पूर्वसहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागलाई आफ्नो बटमलाइन बनाएको छ । 

कान्तिपुर

Link copied successfully