कांग्रेस सांसद योगेश गौचन थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Congress MP Yogesh Gauchan Thakali elected AFPPD youth committee president

काठमाडौँ — नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा भएको हो।

एएफपीपीडी एसिया-प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

थकालीको निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तिकरणको क्षेत्रमा उनले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्।

उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दीगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्। निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully