स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई पनि पक्राउ

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा अनुसन्धान हुने

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Congress MP Maya Rai was also arrested in Swarnalakshmi cooperative fraud

काठमाडौँ — कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले शनिबार राति राईलाई पक्राउ गरेको हो । 

कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई उनको कपनस्थित घरबाटै पक्राउ गरेको बताए । ‘प्रहरी परिसर काठमाडौंलाई बुझाउँदै छौं,’ उनले भने, ‘राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।’

कांग्रेसकी केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । 

अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो । 

मुद्दा अभियोजन हुँदा मुख्य अभियुक्त जीबी राईसहित ३४ जना फरार थिए । स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।  त्यतिबेला राईलाई भने प्रतिवादी बनाइएको थिएन ।

पछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । राई १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । यस्तै, अर्का अभियुक्त जोशीलाई पनि ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । 

कान्तिपुर

Link copied successfully