लुम्बिनी — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता थप वृद्धि भएको बताएका छन् । अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका छन् ।
विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए । चाइनिज कल्चरल प्रमोसन सोसाईटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनद्वारा आयोजित चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने बताए । बुद्ध शिक्षा र विचार, शान्ति करूणा र मैत्रीभावलाई जीवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न सकिने बताए ।
उनले लुम्बिनी पवित्र भूमिमात्रै नभइ बुद्धदर्शनको उत्पतिको थलो भएको बताए । अग्रजहरूले बुद्धका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रीय विचारहरूलाई जीवित राख्न ठूलो संघर्ष गरेको बताए ।
महोत्सवमा भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहका अवसरमा हिमाली क्षेत्रमा प्रख्यात स्याब्रु, योल्मो नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो ।
