सगरमाथा संवादमा बेलायतबाट वातावरणमन्त्रीलाई सहभागी गराउने हाम्रो प्रयास छ : राजदूत फेन

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

We are trying to get the Environment Minister from the UK to participate in the Everest Dialogue: Ambassador Fenn

काठमाडौँ — नेपालको हिमाली क्षेत्रका सरोकारहरूलाई विश्वसामु पुर्‍याउने पहलस्वरूप आगामी सगरमाथा संवादमा बेलायतको सक्रिय सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको नेपालका लागि बेलायती राजदूत रब फेनले जानकारी दिएका छन् । उनका अनुसार बेलायतबाट वातावरण मन्त्रालयका मन्त्रीलाई सहभागी गराउने प्रयास भइरहेको छ ।

कञ्चनज‌ंगा हिमाल आरोहणको ७० औं वार्षिकोत्सव मनाउने क्रममा दूतावासले शुक्रबार साँझ आयोजना गरेको एक जमघटमा बोल्दै राजदूत फेनले हिमाली क्षेत्रका मुद्दालाई विश्वस्तरमा पुर्‍याउन सगरमाथा संवाद महत्वपूर्ण पहल भएको धारणा राखेका थिए । ‘हामी यस कार्यक्रमका लागि बेलायतबाट वातावरणमन्त्रीलाई यहाँ ल्याउने तयारीमा छौं,’ उनले भने, ‘उनी यहाँ आएपछि उहाँमार्फत के पहल गर्ने भन्नेबारे अहिले छलफल भइरहेको छ ।’ 

सगरमाथा संवादको मिति नजिकिँदै गर्दा बेलायत र नेपालबीच जलवायु, जैविक विविधता संरक्षण र दिगो हिमाली व्यवस्थापनका सवालमा सहकार्य गहिरिँदै गएको फेनको भनाइ थियो । सरकारले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्न लागेको छ । यसमा सहभागी हुन नेपाल पर्यटन बोर्डले पनि विश्‍व नेतृत्व र विज्ञहरूलाई अनुरोध गरेको छ । 

कान्तिपुर

Link copied successfully