काठमाडौँ — प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाउँदै खुई गरेको टिप्पणी गरेका छन्। शनिबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै सरकार ढल्ने भन्ने हल्ला फिँजाइएको तर अहिले पुर्पुरोमा हात लगाएर बस्नुपरेको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको उल्लेख गर्दै हल्लामा नलाग्न आग्रह गरे। उनले मिसन ०८४ अन्तर्गत निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए। विमानस्थलमा सभापति देउवाले सरकार नढल्ने भनेपछि हल्ला फैलाउनेहरू सुस्केरा हाल्दै पुर्पुरोमा हात लगाएर बसेको ओलीको टिप्पणी थियो।
ओलीले भने, 'अहिलेको परिस्थितिबारे धेरै भन्नु आवश्यक छैन। हिजोसम्म आगो बाल्न खोजेका थिए। शेरबहादुर देउवाजी फर्किएर आउँदा सरकार ढल्छ कि भन्ने जस्तो हल्ला फिँजाइएको थियो। एयरपोर्टबाटै ढल्छ कि, आइपुग्नेबित्तिकै ढल्छ कि, ओर्लिनेबित्तिकै ढल्छ कि भन्ने शैलीमा हल्ला फैलाइयो। ढल्यो, ढल्यो, ढल्यो भन्दै हल्ला गरियो। तर शेरबहादुरजी आइपुगेपछि केही भएन। मैले पहिल्यै साथीहरूलाई भनेको थिएँ— भ्रम फिँजाउने तत्त्वहरूको पछि नलाग्नुस्, काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्।'
उनले थपे, 'सरकार ढल्दैन भनिसकेपछि विषय सकियो। हामी भनिरहेका छौँ- सरकार ढल्दैन। फेरि के हल्ला खोरहरूको पछाडि किन कुदिरहनु? त्यसैले निर्वाचन तयारीमा लाग्नुस्। अहिलेदेखि चाहिने काममा लाग्नुस्। सरकार ढल्छ कि रहन्छ कि भन्ने बहसमा लाग्नुपर्ने आवश्यकता छैन। यसको जिम्मा हामीले लिन्छौँ। तपाईँहरू आफ्नो काममा लाग्नुस्।'
ओलीले आफूले दिएको अभिव्यक्तिको गलत व्याख्या गरिएको गुनासो गर्दै भने, 'प्रधानमन्त्रीले नै आस मारे भनेर व्याख्या गरियो। मैले भनेका कुरा बुझ्न सकेनन् कि जस्तो लाग्छ। यस्ता कुरामा धेरै भनिरहनु जरुरी छैन। शेरबहादुरजीले सरकार नढल्ने जवाफ दिएपछि हल्ला गर्नेहरू थचक्कै बसे। पुर्पुरोमा हात लगाउँदै खुई गरे।'
प्रधानमन्त्री ओलीले नेपालको भूबनावटले देशलाई सधैँ स्वाधीन राख्न मद्दत गरेकोसमेत बताए।
