प्रधानमन्त्री ओली लुम्बिनीमा

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli in Lumbini

लुम्बिनी — बुद्व जन्मस्थलमा शनिबारबाट सुरु अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभलको उद्‌घाटनका लागि  प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन्। हेलिकोप्टरमार्फत शनिबार बिहान पुगेका प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हेलिप्याडमा स्वागत गरेका थिए।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको हो। लुम्बिनीमा पहिलोपटक यो महोत्सव भइरहेको छ । यसअघि एसियाका अन्य मुलुकमा आयोजना हुने गरेको थियो। फेस्टिभल अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय शनिबार अन्तर्राष्ट्रिय स्तरको सेमिनार पनि आयोजना गर्न लागेको छ ।

फेस्टिभलको समन्वय स्थानीय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । फेस्टिभलमा ४० देशका प्रतिनिधिहरु सहभागी छन् ।

कान्तिपुर

Link copied successfully