अध्यक्ष दाहालको आरोप : वर्तमान सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको हो

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

President Dahal's accusation: The current government is made up of middlemen who are against good governance

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको सरकार गैर जिम्मेवार र सुशासन विरोधी भएको आरोप लगाए। उनले अलिकति पनि राजनीतिक विवेक र ज्ञान भएका व्यक्तिले अहिलेको सरकार बिचौलियाहरूको सरकार भनेर स्वीकार गरिसकेको बताएका छन्। उनले अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकर शाहहरूको हित गर्ने, भ्रष्टाचारीको रक्षा गर्ने र राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए।

दाहालले भने, ‘अहिले जो सरकार चलिरहेको छ, त्यो सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो। अब त अलिकति पनि राजनीतिक विवेक र ज्ञान भएका सबैले स्वीकार गरिसकेका छन्। यो सरकार दलाल पुँजीपति, बिचौलिया र नोकर शाहहरूको हित गर्ने, भ्रष्टाचारीको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो भन्ने कुरा राम्रैसँग स्थापित भइसकेको छ। देशमा अहिले बडो विचित्र स्थिति बनेको छ। एकातिर सडकमा लाखौँ शिक्षक आन्दोलनरत छन्, झन्डै एक महिना हुन लाग्यो। तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो, त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैर जिम्मेवार ढंगले शिक्षकहरूलाई र शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने तथा शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ।’

अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका सहमति अनुसार माग पूरा गर्नुपर्ने र छोटो बाटोबाट ऐन दिनुपर्ने पक्षमा रहेको उनले उल्लेख गरेका छन्।

कान्तिपुर

Link copied successfully