शिक्षामन्त्री र आन्दोलित शिक्षकहरु वार्तामा

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Education Minister and protesting teachers in talks

काठमाडौँ — आन्दोलित शिक्षकहरुका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्त शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा व्यस्त छन् ।

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएन । शिक्षा मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीलाई आह्वान गरेको थियो । सरकारले यसअघि पनि वार्ताका लागि पटक–पटक शिक्षकलाई आह्वान गरेको थियो । 

उता महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully