लोकतन्त्रको डङ्का पिटेर मात्रै लोकतन्त्रवादी होइँदैन, व्यवहारमा देखाउनुपर्छ : अध्यक्ष लिङदेन

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

You don't become a democrat just by beating the sting of democracy, you have to show it in practice: President Lingden

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी हुनु होइन भन्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन् भन्ने धारणा राखे ।

उनले विश्वका धेरै सम्पन्न देशहरूमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अगाडि बढेको उल्लेख गरे । राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी ठहरिने गलत भाष्य निर्माण नगर्न पनि उनले आग्रह गरे ।

उनले भने, ‘राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ। यो गरिमामय संसद्मा जनताका प्रतिनिधिहरूले त्यो गलत परिभाषा दिनु हुँदैन भन्ने चाहन्छु। राजसंस्थाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध होइन। राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन्। दुनियाँका धेरै समृद्ध देशहरू छन्, सुखी र सम्पन्न देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन्। त्यसकारण कसैले यहाँ वा राप्रपाले राजसंस्था वा राजाको पक्षमा बोलेको भनेर लोकतन्त्रको विरोध भनिनु हुँदैन। यो गलत भाष्य निर्माण नगरियोस् भन्ने म सबै राजनीतिक दलहरू र माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु।' 

अध्यक्ष लिङदेनले लोकतन्त्रको वकालत गर्नु मात्रैले कसैलाई लोकतन्त्रवादी बनाउँदैन भन्ने जिकिर गरे । राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरूलाई निरङ्कुश व्यवहार गर्ने ठूला दलहरूले आफू लोकतन्त्रवादी ठान्नु कति उपयुक्त हो ? भनेर प्रश्न गरे।

उनले भने, 'लोकतन्त्रको पक्षमा को छ, विरोधी को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो। लोकतन्त्रको डङ्का पिटेर मात्रै लोकतन्त्रवादी हुँदैन। व्यवहारमा निरङ्कुश चरित्र देखाउने, हिजो राजाले यस्तो गरेको भनेर अरू दलहरू वा विपक्षीमाथि निरङ्कुश व्यवहार गर्ने अनि आफूचाहिँ ठूलो लोकतन्त्रवादी भन्ने?’

अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेटले वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully