काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा काठमाडौंमा तीन दिने ‘अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण कार्यशाला’ सुरु भएको छ । आजदेखि सुरु कार्यशालामा १२ देशका वैज्ञानिकहरूले हिउँचितुवा संरक्षणमा गरिरहेको कामबारे जानकारी आदानप्रदान गर्नेछन् ।
नेपालले आयोनजा गरेको यस कार्यशालामा चीन, भारत, भुटान, अफगानिस्तान, मंगोलिया, रसिया, उज्वेकिस्तान, ताजकिस्तान, कीर्गिस्तान र पाकिस्तानका हिँउचितुवा संरक्षण संस्था, वैज्ञानिक तथा विज्ञहरू सहभागी छन् ।
कार्यशालाको पहिलो दिन हिउँचितुवा संरक्षणमा प्रयोग भएका प्रविधि र उक्त प्रविधि अनुसन्धानबारे अन्तरक्रिया हुनेछ । दोस्रो दिन हिउँचितुवा संरक्षणमा समुदाय र सरोकारवाला निकायको सहभागिता, अन्तिम दिन हिउँ संरक्षणका नीति तथा संरक्षणका लागि सहकार्यको प्रभावबारे बृहत् छलफल हुनेछ ।
