गोरखा — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तानाशाही प्रवृत्ति र लुट मच्चाउन पल्किएकाहरूले ‘गणतन्त्रले केही गरेन’ भनेर त्यसप्रति प्रहार गर्ने प्रयास गरिरहेको बताएका छन्।
गोरखाको बारपाकमा आयोजित १०औँ भूकम्प स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै दाहालले इतिहासलाई पछाडि फर्काउन खोज्ने निरङ्कुश प्रवृत्तिलाई परास्त गर्न आवश्यक रहेको बताए।
'प्रतिक्रियावादी, निरङ्कुशतावादी र अझै पनि तानाशाही मिजाजमा लुट मच्चाउन पल्किएकाहरूले ‘गणतन्त्रले केही गरेन’ भनेर संघीय लोकतन्त्र र समावेशितामाथि प्रहार गर्ने जमर्को गरिरहेका छन्,' दाहालले भने, 'यो विषयलाई गम्भीर चिन्तन-मनन गर्नुपर्छ। इतिहासलाई पछाडि फर्काउने प्रयास रोक्नुपर्छ।'
लोकतन्त्र आएपछि देशमा धेरै कुरा परिवर्तन भएको उनले बताए। 'पार्टीहरूले शासन गर्न थालेयता जनताले जुन अपेक्षा गरेका थिए, त्यो पूर्ण रूपमा पूरा त हुन सकेको छैन, तर ‘केही पनि भएन’ भन्नु पूर्णतः असत्य हो,' उनले भने।
'त्यहाँदेखि यहाँसम्म आइपुग्दा भौतिक पूर्वाधार, विशेष गरी सडक निर्माणमा क्रान्ति नै भएको छ। गुणात्मक रूपमा विकास भएको छ। हजारौँ किलोमिटर सडक यसबीचमा पक्की बनेका छन्,' दाहालले भने, 'सयौँ वर्षदेखि हुन नसकेको विकास गणतन्त्रपछि सम्भव भएको हो। गणतन्त्र आउनुअघि सरदर आयु ५७/५८ वर्ष थियो, अहिले ७२ वर्ष पुगेको छ। किन भयो? बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको छ। किन? स्वास्थ्य क्षेत्रमा देशैभरि संरचना विस्तार भएको छ, केही छिट्टै सम्पन्न हुने प्रक्रियामा छन्— किन?'
लोडसेडिङको सन्दर्भमा उनले भने, 'एक समयको त्यो भयावह अवस्था सम्झनुस्। अहिले झन्डै ९८ प्रतिशत जनता विद्युत् सुविधाबाट लाभान्वित छन्। के यो गुणात्मक प्रगति होइन? यसलाई नदेख्ने?'
दाहालले आफू प्रधानमन्त्री भएका १८ महिनामा गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे। गोरखा–२ का प्रतिनिधिका रूपमा आफूसँग भएको प्रतिबद्धता पूरा गर्न नसकेको अनुभूति पनि उनले व्यक्त गरे।
'मैले आत्मसमीक्षा गरेको छु, पार्टीले पनि गरेको छ। अब आउने दुई-ढाई वर्षमा आफ्नो निर्वाचन क्षेत्रलाई झनै ध्यान दिनुपर्छ,' उनले भने, 'धुलोरहित र पक्की सडक बनाउन, जडीबुटी र पर्यटनका क्षेत्रमा काम अघि बढेको छ। केही नगरेको भन्नु अन्याय हुन्छ।'
