अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन काठमाडौंमा

नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी गुरुङ समुदायको सहभागिता रहने

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

The first convention of International Gurung Wisdom Council in Kathmandu

काठमाडौँ — बौद्ध धर्मावलम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज दोस्रो साता काठमाडौँमा हुने भएको छ ।  

परिषद्ले शुक्रबार अनामगरस्थित तमु बौद्ध सेवा समिति नेपालको सभा हलमा पत्रकार सम्मेलन आयोजना गरी असोज ९ र १० गते (२५ र २६ सेप्टेम्बर २०२५) मा महाधिवेशन र सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनको तयारीका लागि काठमाडौँ, झापा र पोखरामा विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम गर्न लागिएको अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का अध्यक्ष डा कुमार गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङ बुद्धिजम, यसको अवधारणा र अपनाउने पेक्ष्या (संस्कार, संस्कृति) का बारेमा विस्तृत छलफल गरेर 'गुरुङ बुद्धिजम पेक्ष्या' नामक निर्देशिका जारी गर्न अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । 

अध्यक्ष गुरुङले आफू अध्यक्ष बनेपछि संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिएको उल्लेख गर्दै गुरुङ समुदायमा रहेको भाषा, धर्म, संस्कार र संस्कृतिको विविधतालाई एकरुपतामा ल्याउने उद्देश्य संस्थाको रहेको प्रस्ट्याए । 

अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङले अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप २०८२ वैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, वैशाख १५ मा पोखरास्थित बौद्ध अर्घौ सदन, वैशाख १६ मा पोखराकै पार्दी  तमू समाज र वैशाख २० मा झापाको माईधारस्थित गुरुङ गुम्बामा बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारेछलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने बताए । उनले महाधिवेशनमा करिब ५ सय जनाको सहभागिता हुने उनको भनाइ छ ।

सम्मेलनमा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी गुरुङ समुदायको सहभागिता रहनेछन् । त्यसैगरी नेपाल, भारत, भुटान र अमेरिकाका प्रतिनिधिको उपस्थितिमा भारतका विभिन्न स्थानमा समेत छलफल आयोजना गर्ने तयारी छ । आगामी १७ मेमा भारतको सिलगुढी, १८ मेमा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, १९ मेमा गान्तोक र २० मेमा याङ-याङमा अन्तरक्रिया आयोजना गर्ने परिषद्ले जनाएको छ । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफल आयोजना गर्ने जनाइएको छ । 

परिषद्ले गुरुङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएको बौद्ध धर्मलाई ‘गुरुङ बुद्धिजम’का रूपमा परिभाषित गरेको छ । गुरुङ कुलमा जन्मेका समुदायका सदस्यहरूले विविध चाडपर्व तथा संस्कारहरूमा बौद्ध लामाहरूको माध्यमबाट परम्परागत विधि पूरा गर्दै आएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ती अभ्यासकर्तालाई ‘गुरुङ बौद्ध धर्मावलम्बी’ र त्यस्ता अभ्यासहरूलाई ‘गुरुङ बुद्धिजम’ भनेर चिनाइएको हो ।’

कान्तिपुर

Link copied successfully