पहलगाम आतंकवादी हमलाको प्रतिक्रिया : भारतले रोक्यो पानी, पाकिस्तानले आकाश

भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई निलम्बन गरेको छ भने पाकिस्तानले पनि जवाफमा भारतसँगको व्यापार, हवाई उडानमा रोक तथा सबै द्विपक्षीय सम्झौता स्थगित गरेको छ

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Reaction to Pahalgam terror attack: India stops water, Pakistan stops sky

काठमाडौँ — जम्मु–कश्मीरस्थित पहलगाममा गत मंगलबार गरिएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको छ । तनावको वाछिटा दुई देशबीचको आकाश र पानीमा देखिएको छ । भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई निलम्बन गरिदिएको छ भने प्रतिउत्तरमा पाकिस्तानले पनि भारतसँगको व्यापारदेखि सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिदिएको छ ।

साथै, पाकिस्तानले भारतीय स्वामित्व वा भारतीयद्वारा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने पनि निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई निलम्बन गर्ने निर्णय गरेको हो । भारत र पाकिस्तानबीच सन् १९६० मा भएको सिन्धु जल सन्धिलाई सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन । जुन यस पटकको पहलगाम आक्रमणपछि बिथोलिएको हो । 

सिन्धु जल सन्धिअन्तर्गत भारतलाई ब्यास, रावी र सतलज नदीको पानीमा अधिकार दिइएको थियो भने पाकिस्तानलाई तीन पश्चिमी नदीहरू सिन्धु, चेनाब र झेलमको पानीमा अधिकार दिइएको थियो । यद्यपि, यस सन्धिअन्तर्गत सिन्धु, चेनाब, झेलमको २० प्रतिशत पानी भारतसँग छ । पाकिस्तानले यसअघि नै पानी संकटको सामना गरिरहेको बेला भारतले सिन्धु जल सन्धि निलम्बन गरिदिएको हो ।

सिन्धु सन्धि स्थगनले पाकिस्तानले सिन्धु र पञ्जाब प्रान्तमा अघि बढाइरहेका ६ वटा नयाँ नहर निर्माण गर्ने योजना पनि संकटमा फसेको छ । भारतले राजनीतिक रूपमा सिन्धु जलसन्धि निलम्बन गरे पनि पानीको प्रवाह रोक्न भने प्राविधिक रूपमा चुनौतीपूर्ण छ । नदीको ‘डाइभर्सन’ रोक्न र बाँधको पुनःसंरचना गर्न वर्षौं लाग्न सक्छ । नदीको प्रवाह रोक्दा भारतीय भूमिमा बाढी र प्राकृतिक विपत्तिको जोखिम बढ्ने प्राविधिकहरूले बताएका छन् । 

पाकिस्तानले भने भारतले सिन्धु जल सन्धि कार्यान्वयनलाई निलम्बन गरेकोमा विरोध गर्दै पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी दिएको छ । ‘पाकिस्तान र यसका सशस्त्र सेना आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्,’ पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

आतंककारी आक्रमणमा पाकिस्तानको हात रहेको दाबी गर्दै भारतले बुधबार पाँचबुँदे कूटनीतिक कदम चालेको छ । बैठकमा गरिएका निर्णयहरूको घोषणा गर्दै भारतीय विदेश सचिव विक्रम मिश्रीले सिन्धु जल सन्धि तत्काल लागू हुने गरी स्थगित गरिएको बताए । भने, ‘पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द गरेको प्रमाण नदिएसम्म भारतले यसलाई लागू गर्दैन र लागू गर्नका लागि बाध्य पनि हुँदैन ।’

भारतले भन्यो :  

पाकिस्तानले भने भारतीय निर्णयको कडा आलोचना गरेको छ । भारतीय निर्णय ‘एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित’ भएको पाकिस्तानको ठहर छ । प्रधानमन्त्री शरिफको कार्यालयबाट जारी विज्ञप्तिमा ‘कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणबिना’ पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास ‘व्यर्थ, तर्कहीन र पराजित तर्क’ भएको उल्लेख छ । 

पूर्व अतिरिक्त सिन्धु जल कमिस्नर शिराज मेमनले भने भारतले अहिले यो सम्झौताको कार्यान्वयन रोक्ने घोषणा गरे पनि उसले लगभग चार वर्षदेखि नै यसको कार्यान्वयन व्यावहारिक रूपमा रोकेको दाबी गर्दै बीबीसी उर्दूलाई बताएका छन् ।

भारतले विगत चार वर्षदेखि जल आयुक्तहरूको वार्षिक बैठक आयोजना नै नगरेको र नदीमा पानीको तथ्यांक पनि विश्वसनीय नदिएको टिप्पणी गर्दै मेमन थप्छन्, ‘भारतले नदीको पानीको केवल ३० देखि ४० प्रतिशत मात्र तथ्यांक दिइरहेको छ, बाँकीमा ‘नील’ वा ‘नन् अब्जर्भेन्ट’ लेखेर पठाइरहेको छ ।’ उनले भारतले सही तथ्यांक साझेदारी नगरे पनि पाकिस्तानलाई भने खासै असर नगर्ने तर्क गर्दै पाकिस्तान स्वयंले पनि ती नदीहरूको पानीको प्रवाहलाई प्राविधिक परीक्षण गरी तथ्यांक अनुमान गर्न सक्ने बताउँछन् ।

२७ जनाले ज्यान गुमाउने गरी पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी कूटनीतिज्ञलाई समेत अवाञ्छित व्यक्ति (पर्सोना नन् ग्राटा) ठहर गर्दै देश छाड्न आदेश दिएको छ । त्यस्तै सार्क सदस्य राष्ट्रका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गर्ने तथा त्यसअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न भनिसकेको छ । त्यसको प्रतिक्रियामा पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको हो । 

भारतको पछिल्लो कदमको जवाफस्वरूप पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरिदिएको छ । इस्लामाबादमा रहेको भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्‍याइएको छ । भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई अप्रिल ३० अघि पाकिस्तान छोड्न आदेश दिइएको छ । 

पहलगाम घटनापछि भारतले नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई ‘पर्सोना नन् ग्राटा’ ठहर्‍याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको छ । त्यस्तै पाकिस्तानको राजधानी इस्लामाबादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय लिएको छ ।

Reaction to Pahalgam terror attack: India stops water, Pakistan stops sky

पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको छ । सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको छ ।

दुई आक्रमणकारी पाकिस्तानी भएको भारतको दाबी 

भारतले पहलगाम हमलाका आक्रमणकारीमध्ये दुई जना पाकिस्तानी भएको जनाएको छ । जम्मु–कश्मीरस्थित अनन्तनाग जिल्ला प्रहरीले आक्रमणमा संलग्न चार बन्दुकधारीमध्ये तीन जनाको नाम उल्लेख गर्दै सूचना जारी गरेको छ ।

‘तीन जनामध्ये दुई जना पाकिस्तानी नागरिक हुन् भने तेस्रो अनन्तनागका स्थानीय हुन्,’ सूचनामा भनिएको छ, ‘चौथो आक्रमणकारीबारे अहिलेसम्म कुनै जानकारी छैन ।’ प्रहरीले उनीहरू प्रत्येकबारे जानकारी दिनेलाई २० लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ र सूचना दिनेको पहिचान गोप्य राखिने आश्वासन पनि दिएको छ ।

भारतीय प्रहरीले तीनै जना पाकिस्तानस्थित आतंकवादी समूह लस्कर–ए–तैयबा (एलईटी) का सदस्य भएको बताएको छ । तर उनीहरू कसैले पनि हालसम्म भारतीय प्रहरीको दाबीबारे कुनै टिप्पणी गरेका छैनन् । तर पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको र यो भारतको घरेलु समस्या रहेको बताएको छ । आक्रमणबारे अनुसन्धान तथा सोधपुछका लागि कश्मीरभर करिब १५ सय जनालाई हिरासतमा लिइएको प्रहरी स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । 

आक्रमणकारीलाई नछाड्ने मोदीको चेतावनी 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पहलगाममा गरिएको आतंककारी आक्रमणमा संलग्नहरू विश्वको कुनै कुनामा गए पनि नछाड्ने चेतावनी दिएका छन् । ‘म सारा विश्वलाई भन्छु, भारतले हरेक आतंकवादी र उनीहरूका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ,’ आक्रमणपछिको पहिलो सम्बोधनमा मोदीले भने, ‘हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनामा खोज्नेछौं ।’ 

बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले आक्रमणको योजना बनाउने र घटना घटाउनेलाई तिनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिइने बताए । ‘तिनीहरूले निश्चय नै यसको सजाय भुक्तान गर्नेछन् । १ अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतंकवादीको मेरुदण्ड तोड्नेछ ।

आतंकवाद दण्डित हुने नै छ,’ उनले भने । न्याय सुनिश्चित गर्न हरेक प्रयास गर्ने मोदीको भनाइ छ । मंगलबार पहलगामनजिकैको ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित बैसरन उपत्यकामा आतंककारीले आक्रमण गरेका थिए । आक्रमणमा बुटवलका युवा सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । घटनामा १७ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ । मुस्लिम समुदायको बाहुल्य रहेको जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्ष आक्रमणका घटनामा केही कमी आएको थियो ।

भारतले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेज गरेसँगै जम्मु–कश्मीरमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको थियो । तर हिंसाका घटना भने हुँदै आएका छन् । पछिल्लो पटक २०२४ जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दु धर्मावलम्बी चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जना मारिएका थिए । भारतले केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकमाझ जम्मु–कश्मीरका पहलगामसहितका क्षेत्रको प्रवर्द्धन गरिरहेको छ ।

– एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully