काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित गोरखा भूकम्पको १०औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पले पुर्याएको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे।
विपद्बाट क्षति नहुने खालका संरचना बनाउनु, भूकम्पबाट नभत्किने घरहरू निर्माण गर्नु आवश्यक रहेको उनले बताए।
विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभई क्षति हुनै नदिने गरी आवश्यक तयारी गर्नुपर्नेमा उनले जोड दिए। उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्व तयारीमा विशेष ध्यान दिनुपर्ने बताए। भूकम्प गएर भत्किएपछि मात्रै पुनर्निर्माण गर्नेभन्दा पहिल्यै सुरक्षित भएर बस्ने बाटो रोज्नुपर्ने उनको भनाइ थियो।
ओलीले भने, ‘२०७२ सालको भूकम्पजस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै लचकता देखाए पनि आर्थिक अवस्था, बजेट र क्षमताले पुनर्निर्माण गर्न सक्ने अवस्था थिएन। त्यसैले हामीले पहिले नै त्यस्ता संरचना बनाउनु आवश्यक छ, जसले क्षति हुन नदियोस्। भूकम्पबाट नभत्किने खालका घरहरू बनाउन जरुरी छ। भत्किउन्जेल पर्खिने होइन।’
उनका अनुसार, ‘हाम्रा पहाडतिर प्रायः घरहरू डल्ला–डल्ला ढुंगा मिलाएर बनाइएका हुन्छन्। ती ढुंगामा माटो मिसाएर पर्खाल लगाइएको हुन्छ। अलिकति हल्लिँदा पनि ती संरचना भत्किहाल्छन्। अझै पनि यस्ता धेरै घरहरू बाँकी छन्। ती घरहरूलाई हरेक व्यक्तिले आफैँ सुरक्षित बनाउने कुरामा ध्यान दिन जरुरी छ।’
ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्बन गर्न जरुरी रहेको बताए। उनले २०७२ सालको भूकम्पमा सुरक्षाकर्मी र आम नागरिकले देखाएको सहयोग असाधारण रहेको उल्लेख गरे।
