सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Government change rumors are just for entertainment: Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्यान्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि सकारात्मक भएको दाबी गरेकी छन्।

थाइल्यान्डको बैंककमा वैशाख ८ देखि १२ गतेसम्म आयोजित संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनएसक्याप) को ८१औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएपछि मन्त्री राणाले उक्त धारणा राखेकी हुन्।

उनका अनुसार सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदानबारे गम्भीर छलफल भएको थियो। उनले भूपरिवेष्टित तथा साना टापु राष्ट्रहरू सम्मिलित बैठकमा दिगो विकासका लक्ष्य (एसडीजी) हासिल गर्न सहयोगी उपायहरूबारे समेत छलफल भएको जानकारी दिइन्।

उनले भनिन्, 'मैले स्मल आइल्यान्ड डेभलपिङ स्टेट्स, ल्यान्डलक्ड तथा न्यून विकसित मुलुकहरूको समूह (एलडीसी) को समेत अध्यक्षता गरेकी थिएँ। यो समूहमा ९२ देशहरू सामेल छन्। उक्त सत्रमा मैले अध्यक्षता गर्दा नेपालको अन्तर्राष्ट्रिय छवि केही हदसम्म सकारात्मक बनेको महसुस गरियो। हामी एलडीसी समूहको अध्यक्षसमेत हौँ।'

कार्यक्रमको साइडलाइनमा उनले युएनएसक्यापकी कार्यकारी सचिव अर्मिदास आलिस्जाभासँग भेट गरेकी थिइन्। उक्त भेटमा उनले एस्क्यापले आर्थिक तथा सामाजिक विकासका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै भविष्यमा सो भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको उल्लेख गरिन्।

उनका अनुसार एलडीसीबाट स्तरोन्नति भएपछिको व्यापारसम्बन्धी रणनीति, सहुलियत व्यवस्थापन, प्राविधिक सहयोग, लगानीको प्रवाह तथा फन्डिङ संयन्त्रबारे गम्भीर छलफल भएको थियो। उनले सगरमाथा संवादसम्बन्धी विषय पनि सम्मेलनमा उठाएको बताइन्।

सरकार परिवर्तनबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री राणाले यस्ता हल्ला मनोरञ्जनका लागि आउने गरेको टिप्पणी गरिन्। 'सरकार परिवर्तन हुँदैछ भन्ने समाचार पढेर म आफैँ छक्क परेँ,' उनले भनिन्।

कान्तिपुर

Link copied successfully