काठमाडौँ — नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा रहेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले उनीहरूका मागप्रति गम्भीर हुन र तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै ट्रेड युनियनका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्तिमार्फत् सरकारसँग यस्तो माग गरेका हुन्।
लोकतान्त्रिक पेशागत संघसंगठनहरूको राष्ट्रिय महासंघ ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले समेत शिक्षकका मागहरु सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन आदेश गरिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
'सार्थक वार्ताद्वारा आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न र शिक्षकहरुलाई काममा फर्कने वातावरण तत्काल तयार पार्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ,' महासचिव राईले विज्ञप्तिमार्फत् भनेका छन्। उनले राजनीतिक दलहरुलाई समेत यस समस्याको समाधानको लागि सरकारलाई दवाब दिन महासंघले आह्वान गरेको छ।
'शिक्षकहरूको हक, अधिकार र शिक्षक पेशाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सदैव शिक्षकहरुको साथमा छ। यदि सरकार पक्षबाट यस समस्याको तुरुन्तै समाधान खोज्ने पहल गरिएन भने नेपाल ट्रेड युनियन कांग्रेस समेत बाध्य भएर शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता गर्दै सडकमा उत्रन र यस मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न बाध्य हुनेछ,' विज्ञप्तिमा भनिएको छ।
