वनमन्त्री शाही भन्छन्- 'हिउँचितुवा संरक्षण कार्ययोजनाका लागि १ अर्ब ७७ करोड लाग्छ'

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Forest Minister Shahi says - '1 billion 77 million will be required for snow leopard protection action plan'

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सन् २०३० सम्म हिउँचितुवा संरक्षणका लागि एक अर्ब ७७ करोड रुपैयाँ खर्च हुने बताएका हुने बताएका छन् । यसका लागि मन्त्रालयले ‘हिउँचितुवा संरक्षण कार्ययोजना २०२४–२०३०’ कार्यान्वयनमा ल्याएको उनले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले आजदेखि सुरु गरेको तीन दिने ‘अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण कार्यशाला’ मा मन्त्री शाहीले हिउँचितुवा संरक्षणका लागि कार्ययोजना बनाई काम गरिरहेको बताए । ‘यस कार्ययोजनाअनुसार काम सम्पन्न गर्न एक एक अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ उनले भने, ‘यसका लागि हिउँचितुवाको संरक्षणमा दीर्घकालीन योजनासमेत निर्माण गरेका हौं ।’

यसैगरी हालै मात्र सरकारले नेपालमा भएका हिउँचितुवाबारे ‘स्टाटस अफ स्नो लियोपार्ड पपुलेसन इन नेपाल २०२५’ रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ पुगेको छ । नेपालले हिउँचितुवा संरक्षणमा गरिरहेको काम र हिउँचितुवा पाइने १२ वटा देशका राष्ट्रका वैज्ञानिक तथा विज्ञको अनुभव, प्रविधि आदानप्रदान गर्न उक्त कार्यशाला आयोजना गरिएको हो । 

‘नेपाल सरकारको तर्फबाट म समुदायसँग मिलेर प्रविधिमा आधारित संरक्षण कार्य गर्ने प्रतिबद्धता गर्छु,’ वन मन्त्री शाहीले भने, ‘हिउँचितुवाको कुनै देशको सीमाभित्र रहनुपर्छ भन्ने छैन । तसर्थ यसको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक छ ।’

हिमाली रानी भनेर चिनिने हिउँचितुवा नेपालको उच्च हिमाली क्षेत्रको स्वच्छ पारिस्थितिकीय प्रणाली दर्शाउने सूचक रहेको र यसमा नेपालले राम्रो काम गरिरहेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully