काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न नसकेको बताएका छन्। उनले शिक्षामन्त्रीको राजीनामापछि सरकार थप अनुदाररुपमा प्रस्तुत हुनेतर्फ अघि बढेको आरोप लगाए।
अध्यक्ष दाहालले सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाले अब संसद्बाटै सम्बोधनका लागि भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकहरूका मागहरू संसद्बाटै सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।
उनले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरे। बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष दाहालले शिक्षक, चिकित्सक र लघुवित्त पीडितहरूका मागमा सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गइरहेको बताए।
उनले माओवादीले लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा विजय हासिल गर्दै अघि बढिरहेको बताए। 'अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद्मा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण प्रधानमन्त्रीले दुबै सदनमा उपस्थित भएर जवाफ दिन बाध्य बनाउन सफल भइयो,' उनले भने, 'यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो।'
